अस्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीले नयाँ भवनहरूमा ग्यास उपकरणहरूको प्रयोगलाई पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको छ। सिड्नी सिटी काउन्सिलले यो ऐतिहासिक प्रस्ताव पारित गरेपछि अब सहरमा बन्ने नयाँ भवनहरू सन् २०२७ जनवरी १ देखि पूर्ण रूपमा विद्युतीय (All-Electric) हुनुपर्नेछ।
काउन्सिलले यसअघि नयाँ आवासीय भवनहरूमा भित्री ग्यास उपकरणहरू—जस्तै स्टोभ र हीटर प्रयोग गर्न रोक लगाएको थियो। तर नयाँ नीतिअनुसार अब बाहिरी ग्यास उपकरणहरू पनि निषेध गरिनेछ। यो नियम घर, अपार्टमेन्ट, मध्यम तथा ठूलो व्यापारिक भवनहरू, होटल र सर्भिस्ड अपार्टमेन्टहरूमा लागू हुनेछ।
तर औद्योगिक भवनहरू र विद्यमान (पहिले नै बनेका) संरचनाहरू भने यो आदेशबाट मुक्त रहनेछन्। साथै, मिश्रित प्रयोग (mixed-use) भवनमा रहेकारे स्टुरेन्ट वा किचनहरूले चाहिएको खण्डमा ग्यास प्रयोग गर्न पाउनेछन्, तर ती संरचनाहरू भविष्यमा पूर्ण रूपमा विद्युतीय प्रणालीमा रूपान्तरण गर्न सक्षम हुनुपर्नेछ।

सिड्नीकी मेयर क्लोभर मुर (Clover Moore) का अनुसार, यो कदमले सहरका बासिन्दाहरूको स्वास्थ्यमा सुधार ल्याउने मात्र होइन, दीर्घकालमा आर्थिक रूपमा पनि फाइदा पुर्याउनेछ।
उनले भनिन्,
“ग्यासमा निर्भर रहनु पृथ्वीका लागि हानिकारक, हाम्रो वित्तका लागि बोझिलो र स्वास्थ्यका लागि जोखिमपूर्ण हो। ग्यास चुलोले मात्र अस्ट्रेलियाका बालबालिकामा हुने दम (Asthma) का करिब १२ प्रतिशत केसहरूका लागि जिम्मेवार छन्।”
मुरका अनुसार, नयाँ मापदण्डहरूले भविष्यमा ऊर्जा दक्ष (energy-efficient) भवन निर्माण गर्न सहयोग गर्नेछन् र महँगा भवन मर्मत र अद्यावधिक) खर्चबाट घरधनीहरूलाई जोगाउनेछन्। उनले थपिन्,
“ग्यास एक महँगो वस्तु हो, जसको मूल्य अझै बढ्ने अनुमान छ। यस उपायले परिवारहरूलाई महँगो र पुरानो ग्यास प्रणालीमा फस्नबाट जोगाउनेछ।”
काउन्सिलले जनमत सङ्कलन गर्दा धेरैजसो सुझावहरू यस कदमको समर्थनमा आएका थिए।
मुरका अनुसार,
“यो प्रस्तावलाई समाजका विभिन्न क्षेत्रहरूबाट व्यापक समर्थन प्राप्त भएको छ — Ausgrid देखि Property Council सम्मका उद्योग संघहरूले पनि यस कदमको समर्थन गरेका छन्, जसले अस्ट्रेलियाली समुदायमा ग्यासको निर्भरता अन्त्य गर्न सहमति रहेको देखाउँछ।”
यो नीति सिड्नीका लागि पहिलो होइन। भिक्टोरिया (Victoria) र अस्ट्रेलियन क्यापिटल टेरिटोरी (ACT) ले सन् २०२४ मै नयाँ घरहरूमा ग्यास जडानमा प्रतिबन्ध लगाइसकेका छन्। साथै, वेभरली (Waverley) र पारामट्टा (Parramatta) जस्ता सिड्नीका अन्य काउन्सिलहरूले पनि यस्तै नीतिहरू अपनाइसकेका छन्।
यो निर्णयले सिड्नीलाई जलवायु परिवर्तनविरुद्धको लडाइँमा अग्रणी शहरको रूपमा स्थापित गरेको छ, जसले अस्ट्रेलियाको ऊर्जा भविष्यलाई हरित र टिकाउ दिशातर्फ मोड्ने अपेक्षा गरिएको छ। 🌱





