भिक्टोरिया सरकारले आगामी वसन्त ऋतुमा बढ्न सक्ने Thunderstorm Asthma जोखिमको पूर्वानुमान र नियन्त्रण सुधार गर्ने उद्देश्यले छ वटा नयाँ अटोमेटेड पोलन काउन्टर सञ्चालनमा ल्याएको छ।
यी उपकरणहरूले हावामा रहेका पोलनको मात्रा र प्रकार मापन गर्नेछन्, जसको आधारमा स्वास्थ्य निकायहरूले अस्थमा आक्रमणको सम्भावना पहिचान गर्न र अग्रिम चेतावनी जारी गर्न सक्नेछन्।
Thunderstorm Asthma के हो?
थन्डरस्टर्म अस्थमा तब देखा पर्छ जब वायुमण्डलमा अत्यधिक पोलन कणहरू रहेका बेला तीव्र हावा र वर्षासँग आँधी आउँछ। हावाको तीव्र गतिले पोलनका कणहरू साना टुक्रामा विभाजित गर्छ, जसले तिनीहरूलाई फोक्सोभित्र गहिरो प्रवेश गर्न सहज बनाउँछ।
यस कारण अस्थमा भएका बिरामीमा गम्भीर आक्रमण हुन सक्छ, र कहिलेकाहीँ सामान्य व्यक्तिहरूमा पनि तीव्र श्वाससम्बन्धी समस्या उत्पन्न गर्न सक्छ।
चिकित्सकको टिप्पणी
अष्ट्रेलियन मेडिकल एशोसिएसन (AMA) का अध्यक्ष डा. टोनी बार्टोनका अनुसार,
“आँधीका समयमा घाँसका पोलनहरू लामो दूरीमा फैलिन्छन् र स–साना कणहरूमा रूपान्तरण हुन्छन्। ती कणहरू फोक्सोभित्र गहिरोसम्म पुग्दा अस्थमा रोगीका लागि गम्भीर अवस्था उत्पन्न गर्न सक्छन्।”
उनले भने, २०१६ मा भिक्टोरियामा यस्तै एक घटनामा १० जनाको मृत्यु भएको थियो, जब आपतकालीन सेवाहरूले हजारौँ अस्थमा आक्रमणका केसहरू एकैसाथ सामना गर्नुपरेको थियो।
डा. बार्टोनले थपे,
“यी पोलन काउन्टरहरूले जोखिम पहिचानमा मद्दत गर्छन्, तर अस्थमा वा हे–फिभर भएका व्यक्तिहरूले पनि आफ्नै कार्ययोजना तयार गर्नुपर्छ। अस्थमा ट्रिगरबारे बुझ्नुपर्छ र औषधिको सही प्रयोग गर्न जान्नुपर्छ।”
तयारी र सतर्कता
विशेषगरी अस्थमा र हे–फिभर भएका बिरामीलाई वसन्त ऋतुमा सतर्क रहन सल्लाह दिइएको छ।
डाक्टरहरूका अनुसार, सास फेर्न गाह्रो हुने, छाती कडिने, लगातार खोकी वा सिउँ–सिउँ आवाज आउने लक्षण देखिएमा तुरुन्तै उपचार सुरु गर्नुपर्छ।
