अष्ट्रेलियाको रिजर्भ बैंक (RBA) ले सेप्टेम्बर बैठकमा ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ। बैंकको यो निर्णयसँगै भेरिएबल होम लोनमा राहत खोजिरहेका लाखौं अष्ट्रेलियाली घरमालिक र सम्भावित घरधनीहरूले अझै पर्खनुपर्ने भएको छ।
यो वर्षको सुरुमा ४.३५ प्रतिशतमा रहेको मुख्य क्यास रेट अहिले ३.६ प्रतिशतमा झरेको छ। यद्यपि, यस वर्ष बाँकी दुई बैठक (नोभेम्बर र डिसेम्बर) मा पुनः कटौती हुने वा नहुनेबारे विशेषज्ञहरूबीच अझै मतभेद छ। श्रम बजार स्थिर रहनु र मुद्रास्फीति अझै उच्च स्तरमा रहनुले बैंकलाई सतर्कतापूर्वक अघि बढ्न बाध्य बनाएको छ।
गभर्नर मिशेल बुलकले आगामी नोभेम्बर बैठक निर्णायक हुने स्पष्ट पार्दै भन्नुभयो , “बोर्डले जोखिमलाई सन्तुलित रूपमा हेरेको छ र निर्णय पूर्ण रूपमा डेटामुखी रहनेछ। सेप्टेम्बर त्रैमासिक मुद्रास्फीति र श्रम बजारका तथ्यांकले भविष्यको दिशा निर्धारण गर्नेछ।”
आवास बजारबारे बोल्दै बुलकले अझै गहिरो निराशा व्यक्त गर्नुभयो । उहाले भन्नुभयो , “यो अत्यन्तै कठिन अवस्था हो। विगतमा सजिलै घर किन्न सक्ने परिवारहरू अहिले बजारबाट बाहिरिएका छन्, र यो स्थिति राम्रो परिणाम होइन।” उहाको अनुसार, घरको मूल्य वृद्धिको प्रमुख कारण दीर्घकालीन आवास आपूर्ति अभाव हो, ब्याजदर होइन।उहाले भन्नुभयो , “सरकारले अब मात्र यस समस्यालाई सम्बोधन गर्न थालेको छ तर यसले तत्काल सुधार ल्याउने सम्भावना छैन। यसलाई प्रभावकारी हुन समय लाग्छ, र म विश्वस्त छैन कि आगामी दुई वर्षभित्र यसले ठोस परिवर्तन ल्याउनेछ।”
बुलकले थप व्यवसायहरूले उपभोक्तामाथि लागत बढाएर थोपर्ने सम्भावना अझै कायम रहेको चेतावनी दिनुभयो । हालसम्म यस्तो प्रवृत्ति नरहेको भए पनि नजिकै बढ्न सक्ने जोखिमलाई उनले नजरअन्दाज गर्न नहुने बताउनुभयो । मुद्रास्फीति २–३ प्रतिशत दायराभित्र रहेको भए पनि सतर्क रहनुपर्ने उनको भनाइ थियो।
यसैबीच, अर्थमन्त्री जिम चाल्मर्सले RBA को निर्णयलाई आलोचना गर्दै भन्नुभयो , “यो निर्णयले गृहऋण बोकेका अष्ट्रेलियालीलाई निराश तुल्याएको छ।” उहाले ले सरकार घरधनी र भाडामा बस्ने दुवैलाई सहयोग गर्न नीतिगत उपायहरूमार्फत प्रयासरत रहेको दोहोरर्याउनु भयो ।
विश्लेषकहरूका अनुसार, RBA को यस निर्णयले आवास बजारमा थप अनिश्चितता ल्याएको छ। तत्काल राहत नपाए पनि निकट भविष्यमा स्थिर मुद्रास्फीति र श्रम बजारको मजबुतीले दीर्घकालीन अर्थतन्त्रमा सन्तुलन कायम गर्ने अपेक्षा गरिएको छ।
