अष्ट्रेलियाको केन्द्रीय बैंक Reserve Bank of Australia (RBA) आज सेप्टेम्बर महिनाको मौद्रिक नीतिसम्बन्धी निर्णय सार्वजनिक गर्दैछ।
निर्णय दिउँसो २:३० बजे (AEST) घोषणा हुनेछ भने त्यसको एक घण्टापछि गर्भनर मिशेल बुलक पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिने कार्यक्रम छ।
ब्याजदर कटौतीको आशा क्षीण
यस वर्ष तीन पटक लगातार ब्याजदर कटौती भइसकेकाले बजारमा चौथो कटौतीको अपेक्षा गरिएको थियो। तर, पछिल्ला दुई महिनामा अप्रत्याशित रूपमा मुद्रास्फीति बढेपछि अधिकांश विश्लेषकहरूले वर्तमान ३.६० प्रतिशत नङ्गद दर (cash rate) यथावत रहने सम्भावना प्रबल देखाएका छन्।
मुद्रास्फीति नियन्त्रण प्राथमिकतामा
अर्थतन्त्र सन्तुलनमा राख्न ब्याजदर नीतिगत उपकरणको रूपमा प्रयोग गरिँदै आएको छ। तर पछिल्लो मूल्यवृद्धिले उपभोक्ता जीवनस्तरमा दबाब सिर्जना गरिरहेका कारण RBA को प्राथमिकता अहिले मुद्रास्फीति नियन्त्रणमा केन्द्रित भएको बताइन्छ।
विशेषज्ञहरूका अनुसार तत्काल पुनः कटौती भएमा कर्जाको लागत घट्ने र खर्च बढ्ने सम्भावना रहेकाले मुद्रास्फीति अझै चुलिन सक्ने जोखिम छ।
बजार र उपभोक्ताको प्रतिक्षा
आजको निर्णय अष्ट्रेलियाको वित्तीय बजार, गृह ऋण दर र लगानीकर्ताको विश्वासमा प्रत्यक्ष प्रभाव पार्नेछ। विशेषगरी आवास बजारमा प्रवेश गर्ने उपभोक्ता, बैंक तथा वित्तीय संस्थाहरूले यस घोषणालाई नजिकैबाट हेर्नेछन्।
गर्भनरको वक्तव्य महत्त्वपूर्ण
ब्याजदर स्थिर रहने संकेत भए पनि गर्भनर मिशेल बुलकको वक्तव्यबाट दीर्घकालीन नीतिगत दृष्टिकोणबारे स्पष्ट संकेत मिलने अपेक्षा गरिएको छ।
विशेषज्ञहरूको भनाइमा, आगामी महिना वा वर्षमा कटौती वा वृद्धिको सम्भावना कस्तो देखिन्छ भन्नेबारे गर्भनरको विश्लेषणले बजारको दिशा निर्धारण गर्नेछ।
