
अष्ट्रेलियाका दुई ठूला सुपरमार्केट चेन कोल्स (Coles) र वुलवर्थ्स (Woolworths) फेरि पनि देशकै सबैभन्दा “Distrusted Brand”को सूचीमा शीर्ष स्थानमा परेका छन्। अनुसन्धान संस्था रोय मोर्गन (Roy Morgan) ले जारी गरेको नवीनतम त्रैमासिक प्रतिवेदनअनुसार वुलवर्थ्सलाई पहिलो र कोल्सलाई दोस्रो सबैभन्दा Distrusted Brandका रूपमा सूचीकृत गरिएको हो।
यो सूचि अष्ट्रेलियाभर करिब १५०० देखि २००० उपभोक्तामाझ मासिक रुपमा गरिएको सर्वेक्षणमा आधारित हो। अध्ययनमा करिब १००० भन्दा बढी ब्रान्डहरूको छवि, विश्वसनीयता र उपभोक्ता धारणा मूल्याङ्कन गरिएको छ।
मूल्यवृद्धि र ACCC कारबाहीले प्रतिष्ठा घटायो
Coles र Woolworths दुवै पछिल्लो एक वर्षयता उपभोक्ता असन्तुष्टि र कडा आलोचनाको सामना गर्दै आएका छन्। विशेषगरी मूल्यवृद्धि (price gouging) सम्बन्धी आरोपका कारण यी चेन स्टोरहरू अष्ट्रेलियाली प्रतिस्पर्धा तथा उपभोक्ता आयोग (ACCC) को निगरानीमा परेका छन्।
गत मे महिनामा प्रकाशित सूचिमा समेत वुलवर्थ्सलाई नै देशकै सबैभन्दा अविश्वसनीय ब्रान्ड घोषणा गरिएको थियो। यसले देखाउँछ कि उपभोक्ता विश्वास पुनःप्राप्त गर्ने यात्रा यी सुपरमार्केट चेनहरूका लागि अझै चुनौतीपूर्ण छ।
विश्वसनीय ब्रान्डतर्फ उल्टो तस्वीर
अविश्वसनीयताको सूचीमा तल्लो स्थान पाउने सुपरमार्केटहरूमै आलोचना चुलिँदा, विश्वसनीय ब्रान्डतर्फ भने भिन्न तस्वीर देखिएको छ।
- बनिङ्स (Bunnings) लगातार सातौं पटक ‘सबैभन्दा विश्वासिला ब्रान्ड’को शीर्ष स्थानमा उक्लिएको छ।
- दोस्रो स्थानमा अल्डी (Aldi),
- तेस्रोमा केमार्ट (Kmart),
- चौथोमा एप्पल (Apple) र
- पाँचौं स्थानमा टोयोटा (Toyota) रहेका छन्।
यी ब्रान्डहरूले दीर्घकालीन विश्वसनीयता, मूल्यअनुरूप सेवा र उपभोक्ताप्रति सकारात्मक छवि कायम गर्न सफल भएका छन्।
पछिल्लो त्रैमासिक प्रतिवेदनले अष्ट्रेलियाका ठूला चारवटा बैंकहरूको छवि सुधारिएको देखाएको छ। लामो समयदेखि आलोचना झेलिरहेका बैंकहरूले ब्याजदरमा पाँच वर्षपछि गरिएको कटौती र उपभोक्ताप्रति लचिलो सेवाका कारण उपभोक्ता धारणा सुधार गर्न थालेका छन्।
- कमनवेल्थ बैंक (Commonwealth Bank) मात्र शीर्ष १० मा प्रवेश गर्दै सातौं स्थानमा पुगेको छ।
- एनएबी (NAB) २९ स्थान माथि उक्लँदै १९ औं स्थानमा,
- वेस्टप्याक (Westpac) २१ औं स्थानमा र
- एएनजेड (ANZ) १०४ स्थान माथि उक्लँदै ५१ औं स्थानमा पुगेको छ।
यद्यपि, एएनजेडमाथि हालसालै ASIC ले तोकेको रेकर्ड २४० मिलियन डलरको जरिवानाले फेरि चुनौती थप्ने सम्भावना प्रष्ट भएको छ।
अन्य अविश्वसनीय ब्रान्डहरू
सुपरमार्केट चेनहरूपछि, अविश्वसनीयताको सूचीमा अन्य ठूला नामहरू पनि छन्।
- फेसबुक (Meta/Facebook) तेस्रो,
- अप्टस (Optus) चौथो,
- क्वान्टस (Qantas) पाँचौं,
- टेमु (Temu) छैटौं,
- टेलस्ट्रा (Telstra) सातौं,
- टेस्ला (Tesla) आठौं,
- एक्स (X/Twitter) नवौं र
- न्यूज कर्प (News Corp) दशौं स्थानमा रहेका छन्।
यी सबै ब्रान्डहरूले पछिल्ला वर्षहरूमा सेवाग्राही असन्तुष्टि, नियामक कारबाही वा विवादास्पद निर्णयका कारण आफ्नो छवि गुमाएका छन्।
सुधारको संकेत देखिँदै
रोय मोर्गनकी प्रमुख कार्यकारी मिशेल लेभिन का अनुसार, “वुलवर्थ्स, कोल्स र क्वान्टसजस्ता अष्ट्रेलियाका ठूला ब्रान्डहरू पछिल्ला वर्षहरूमा प्रतिष्ठागत संकटमा परे पनि पछिल्लो तथ्याङ्कले केही सकारात्मक सुधारको संकेत देखाएको छ।”
उनले थपिन्, “अझै अविश्वास उच्च भए पनि क्वान्टसले निरन्तर आफ्नो छवि सुधार गरेको छ भने, कोल्स र वुलवर्थ्समा समेत हरित संकेत (green shoots of recovery) देखिन थालेको छ। तर यी ब्रान्डहरूलाई उपभोक्ता विश्वास पुनःआर्जन गर्न अझै लामो बाटो हिँड्नुपर्नेछ।”





