
अष्ट्रेलियाको अन्तरिक्ष प्रविधिले ठूलो उपलब्धि हासिल गरेको छ। देशमै बनेको पहिलो अन्तरिक्ष दूरबीन (SpIRIT) ले ६०० दिनभन्दा बढी अन्तरिक्षमा बिताएपछि आफ्नो प्रारम्भिक मिशन सफलतापूर्वक पूरा गर्दै पृथ्वीमा पहिलो तस्बिर पठाएको छ।
सन् २०२३ डिसेम्बरमा अमेरिकाको Californiaबाट SpaceXको Falcon 9 रकेटमार्फत प्रक्षेपण भएको SpIRITले हालसम्म ९,००० पटकभन्दा बढी पृथ्वी परिक्रमा गरिसकेको छ। यस अवधिमा यसले पृथ्वी–मंगल ग्रहबीचको दुरी बराबर यात्रा पूरा गरिसकेको बताइन्छ।
प्रारम्भिक परीक्षण सफल
मेलबर्न विश्वविद्यालयका प्राध्यापक तथा प्रमुख अनुसन्धानकर्ता Michele Trenti का अनुसार, SpIRIT) को सफल परीक्षण अष्ट्रेलियाली प्रविधि र अन्तरिक्ष क्षमतामा नयाँ अध्याय हो।
उहाले भन्नुभयो , “अष्ट्रेलियामै डिजाइन र निर्माण गरिएको यो उपग्रहमा पहिलो पटक प्रयोग भइरहेका प्रविधि छन्। यसमा इटालियन स्पेस एजेन्सीद्वारा उपलब्ध वैज्ञानिक उपकरण पनि जडान गरिएको छ। परीक्षण चरण पूरा भएपछि अब यो वैज्ञानिक अनुसन्धानका लागि पूर्ण रूपमा तयार छ।”
पहिलो तस्बिर र प्रविधिको प्रदर्शन
SpIRITले परीक्षण चरणमा आफ्ना उडान क्षमता र अष्ट्रेलियाली प्रविधि परीक्षण गर्दै पहिलो “सेल्फी” खिचेर पठाएको हो। तस्बिरमा मिशनका सहभागी संस्थाहरूका लोगो अंकित उपग्रहको तल्लो भाग देखिन्छ।
मेलबर्न विश्वविद्यालयले विकास गरेको विशेष पखेटाजस्तो संरचनाले उपग्रहलाई चिसो राख्न र कार्यक्षमता बढाउन सहयोग पुर्याउँछ। करिब एक मिटर आकारको यो उपग्रहले अब वैज्ञानिक खोजमा प्रयोग हुने गामा–रे बर्स्ट (तारा मर्न वा ठोक्किँदा हुने विस्फोट) पत्ता लगाउने कार्य सुरु गर्नेछ।
आगामी मिशन
गामा–रे बर्स्ट दुर्लभ र अप्रत्याशित हुने भएकाले स्पIRITलाई प्रारम्भिक चेतावनी प्रणालीका रूपमा प्रयोग गरिनेछ। यसले विश्वभरका खगोलविदलाई यस्ता घटनाबारे सचेत गराउनेछ। उपग्रह करिब १,००० दिनसम्म कक्षामा रहने अपेक्षा गरिएको छ।
अन्तर्राष्ट्रिय सहकार्य
अष्ट्रेलियाली अन्तरिक्ष एजेन्सीका प्रमुख Enrico Palermoले यो उपलब्धिलाई ऐतिहासिक भनेका छन्।
उहाले भन्नुभयो, “SpIRIT मिशनले अष्ट्रेलियाको क्षमता मात्र होइन, अन्तर्राष्ट्रिय सहकार्यको महत्व पनि देखाएको छ। इटालियन स्पेस एजेन्सीसँगको सहकार्य यसमा उत्कृष्ट उदाहरण बनेको छ।”
SpIRITको पहिलो चरण सफल भएपछि अष्ट्रेलिया अब अन्तरिक्ष अनुसन्धानको अर्को महत्वपूर्ण यात्रातर्फ अघि बढेको छ। यो उपलब्धिले अष्ट्रेलियालाई अन्तर्राष्ट्रिय अन्तरिक्ष अनुसन्धानमा अझ ठोस उपस्थिति दिलाउने अपेक्षा गरिएको छ।






