
जनकपुरधाम । जेन–जीको अगुवाइमा भएको आन्दोलनपछि जनकपुरधाममा देखिएको अराजक अवस्थामध्ये लुटपाटसम्बन्धी घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेस प्रदेश लोक सेवा आयोगको कार्यालयबाट लुटिएको हतियारसहित दुई व्यक्तिलाई पक्राउ गरिएको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ का ३७ वर्षीय मनिषकुमार अधिकारी र २१ वर्षीय सन्तोषकुमार यादव रहेका छन्। उनीहरूलाई प्रहरीसँगै खटिएका सुरक्षाकर्मीको एकथान एसएलआर राइफल र ५० राउण्ड गोलीसहित पक्राउ गरिएको हो।
घटनाबारे प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आन्दोलनकै क्रममा कार्यालयमा तोडफोड, आगजनी र लुटपाट गर्ने क्रममा प्रहरीसँग रहेको एकथान राइफल तथा ५० राउण्ड गोली समेत लुटिएको थियो। उपलब्ध ‘सिसिटिभी’ फुटेजको आधारमा अनुसन्धान गर्दा उनीहरू प्रत्यक्ष संलग्न देखिएका कारण पक्राउ गरिएको हो।”
मधेस प्रदेश लोक सेवा आयोगको कार्यालय भाडाको घरमा सञ्चालन भइरहेको अवस्थामा अराजक समूहले ठूलो क्षति पु¥याएको प्रहरीले जनाएको छ। तोडफोडको क्रममा चार थान चारपांग्रे गाडी, चार थान मोटरसाइकल, कार्यालयका सिसीटिभी क्यामरा र अन्य महत्वपूर्ण सामग्रीमा समेत क्षति पुगेको बताइएको छ।
भदौ ३१ गते गरिएको यो पक्राउलाई प्रहरीले आन्दोलनपछि सुरक्षात्मक नियन्त्रणलाई सुदृढ बनाउने प्रयासको रूपमा लिएको छ। धनुषा प्रहरीले थप संलग्न व्यक्तिहरूको पहिचान र खोजी कार्य जारी रहेको जनाएको छ।
स्थानीय समुदायले आन्दोलन शान्तिपूर्ण हुनुपर्नेमा जोड दिँदै हतियार लुटपाटजस्ता गतिविधिले आन्दोलनको औचित्य कमजोर पार्ने बताएका छन्। अब यस घटनापछि मधेस प्रदेशमा सुरक्षाकर्मीको उपस्थिति अझ बढ्ने र सरकारी कार्यालयमा सुरक्षा व्यवस्था कडाइ गर्ने तयारी भएको बताइएको छ।
यसरी, जनकपुरमा लुटिएको सरकारी हतियारसहित दुई जनाको पक्राउले आन्दोलनपछि चर्किएको विवादलाई नयाँ मोड दिएको छ भने सुरक्षातन्त्रलाई अझै सतर्क रहन प्रेरित गरेको छ।





