पीडादायी क्षणपछि पनि ‘हामी टुटेका छैनौँ’ — निर्वाण चौधरी

Advertisement

काठमाडौँ । हालैको अस्थिर परिस्थितिमा चौधरी ग्रुप (सीजी) विभिन्न स्थानमा भएको आक्रमण, आगजनी र तोडफोडबाट अर्बौँको सम्पत्तिगत क्षति बेहोर्न बाध्य भएको छ। यस्ता घटनापछि कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भावनात्मक तर दृढ सन्देश जारी गर्दै गहिरो पीडा प्रकट गरेका छन्।

युवाआन्दोलनलाई अराजकताले अपहरण गरेको आरोप

चौधरीका अनुसार प्रारम्भमा शान्तिपूर्ण रूपमा अघि बढेको युवाको जायज आन्दोलनलाई केही बाह्य शक्ति र अराजकताले अपहरण गरे। परिणामस्वरूप आन्दोलन हिंसामा परिणत भई कम्पनीका सम्पत्ति, कार्यालय, कारखाना र सोरुममा आगजनी र लुटपाटसम्मका घटनाहरू भए।
उनले भने, “विगत केही दिन हाम्रो कम्पनीको इतिहासमा सबैभन्दा पीडादायी क्षण बनेका छन्। दशकौँको मेहनत, त्याग र प्रतिबद्धता केही घण्टामै खरानीमा परिणत भयो।”

अध्यक्षमाथि व्यक्तिगत आक्रमणदेखि पारिवारिक घरमा आगजनीसम्म

सन्देशमा उनले कम्पनीका अध्यक्षमाथि व्यक्तिगत हमला, पारिवारिक निवासमा आगजनी, कारखाना र कार्यालयहरूमा तोडफोड र सोरुमहरूमा लुटपाटजस्ता घटना भएको उल्लेख गरेका छन्। यो केवल सम्पत्तिमाथिको आक्रमण मात्र नभई “आशा, विश्वास र राष्ट्रका लागि केही महत्वपूर्ण निर्माण गर्ने सपनामाथिको हमला” भएको उनले बताए।

कर्मचारीको साहस र एकताको प्रशंसा

यस कठिन घडीमा चौधरीले आफ्ना कर्मचारीको असाधारण साहसलाई विशेष धन्यवाद दिएका छन्। उनका शब्दमा, “आगो दन्किरहेको बेला पनि हाम्रो टिमले हिम्मत हारेन। आफ्नो वरिपरि सबै कुरा भत्किँदै गर्दा पनि जो अडिग भएर उभिए, म उनीहरूलाई सलाम गर्दछु।”
उनले चौधरी ग्रुपलाई कम्पनी मात्र नभई लचकता, निष्ठा र साहसले बाँधिएको परिवारको रूपमा चित्रण गरे।

भविष्यप्रति दृढ संकल्प

निर्वाण चौधरीले जारी सन्देशमा कम्पनी भविष्यमा अझ बलियो भएर उभिने प्रतिबद्धता प्रकट गरे। “हो, हामीलाई चोट लागेको छ। हामी हल्लिएका छौँ। तर हामी टुटेका छैनौँ,” उनले भने। उनका अनुसार, शत्रुहरूले भवन जलाउन सक्छन् तर सपना जलाउन सक्दैनन्; सोरुम लुट्न सक्छन् तर मूल्य र संस्कार लुट्न सक्दैनन्; एकता भत्काउन खोज्न सक्छन् तर आत्मबल नष्ट गर्न सक्दैनन्।

राष्ट्रनिर्माणमा निरन्तरता दिने प्रतिज्ञा

सीजीलाई उनले नेपालको सबैभन्दा ठूलो करदाता, ठूलो रोजगारदाता र राष्ट्रनिर्माणमा सक्रिय समूहका रूपमा स्मरण गराउँदै भने, “भूकम्प होस् वा बाढी, वा महामारी—हामी सधैँ जनताको लागि अग्रपङ्क्तिमा उभिएका छौँ। त्यो अभियान समाप्त भएको छैन, त्यो जिम्मेवारी डगमगाएको छैन।”

‘इतिहासले हाम्रो लडाइँ सम्झनेछ’

अन्त्यमा उनले भने, “इतिहासले हामीलाई भस्म पार्ने आगोलाई होइन, हामी कसरी बलियो, गर्विलो र थप एकजुट भएर उठ्यौँ भन्ने कुरा सम्झनेछ।”
उनले यस त्रासदीलाई नयाँ शक्ति, नयाँ विचार र अझ गहिरो प्रतिबद्धतासहित नेपाली जनतासँगै पुनर्निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

spot_img