छिमेकीले विन्ती गर्दा गर्दै जलाए गर्भनरको घर, निशानामा थिए विष्णु पौडेल

Advertisement

काठमाडौं । मंगलबारको जेन–जी आन्दोलनका क्रममा ललितपुरको भैंसेपाटीस्थित प्रहरी कार्यालयमा आगजनी भएपछि आन्दोलनकारीहरू अर्थमन्त्री विष्णु पौडेलको घरतर्फ मोडिए। उनीहरूको आक्रमणले पौडेलको घर क्षणभरमै आगोको लपेटामा पर्‍यो। प्रत्यक्षदर्शीका अनुसार आन्दोलनकारीले घरभित्र पसेर सामान निकालेर आगो लगाइदिए।

घटनास्थल नजिकै नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेल पनि छिमेकीका रूपमा बस्दै आएका छन्। गर्भनरको घरमा पनि आन्दोलनकारी पसेर तोडफोडको प्रयास गरे तर छिमेकीहरूको अपिलले जोगाउन सके। स्थानीयका अनुसार, आन्दोलनकारीले गर्भनरलाई “सोझा र निष्ठावान, भ्रष्टाचारमा संलग्न छैनन्” भन्दै छोडिदिन आग्रह गरे पनि उनीहरूको घरमा तोडफोड भयो।

आगोले नष्ट गरेको घरबारे गर्भनरले सामाजिक सञ्जालमार्फत भावनात्मक प्रतिक्रिया जनाएका छन्। उनका अनुसार घर बनाउन उनले अध्ययनकालदेखि विदेशमा कमाएको आम्दानी प्रयोग गरेका थिए। उनका व्यक्तिगत पुस्तक, दुर्लभ ऐतिहासिक सामग्री, कलाकृतिहरू, परिवारका तस्बिर र छोरीलाई प्रिय भएको सामानसमेत जलाइएका छन्।

गर्भनरले भनेका छन्, “यो केवल एउटा घर मात्र थिएन, मेरो परिवारको सम्झना, विश्वास र भविष्यका सपनाहरू पनि त्यसैसँग खरानी बने।” उनले आफ्नो पत्नी र छोरी सुरक्षित रहे पनि परिवार ‘शरणार्थी’जस्तै बनेको पीडा व्यक्त गरेका छन्।

स्थानीयले बताएअनुसार रातभर आगो निभाउन ढिलो भयो, बीचबीचमा अपरिचित मानिस आएर ढुङ्गामुढा गर्न र केही सामान चोरी गर्न समेत उद्यत देखिन्थे।

गर्भनरले यो घटनालाई व्यक्तिगत पीडाभन्दा पर गएर मुलुककै ठूलो संकटको उदाहरणका रूपमा लिँदै, नयाँ सरकार गठनसँगै शान्ति, स्थायित्व र जिम्मेवार नेतृत्व आवश्यक रहेको बताएका छन्।

यस घटनाले आन्दोलनबीच निर्दोष नागरिक र निजी सम्पत्तिमा पर्न सक्ने भयावह असरलाई स्पष्ट पारेको छ।

spot_img