सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

spot_img

    काठमाडौं । मुलुकभरको अस्थिर परिस्थिति र नेपाली सेनाले भदौ २५ गतेदेखि लागू गरेको निषेधाज्ञालाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अत्यावश्यक सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनामा सबै इजाजतप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी र भुक्तानी प्रणालीमा संलग्न संस्थालाई व्यवसायिक निरन्तरता (Business Continuity) कायम राख्न आग्रह गरिएको छ।

    सीमित कर्मचारीमार्फत सेवा

    सूचनाअनुसार, बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना संवेदनशील प्रणालीहरू सीमित कर्मचारीमार्फत सञ्चालन गर्नुपर्नेछ। यसअन्तर्गत अत्यावश्यक बैंकिङ कारोबार र डिजिटल भुक्तानी प्रणालीलाई निरन्तर रूपमा उपलब्ध गराउनुपर्ने जनाइएको छ। अन्य गैर–संवेदनशील प्रणाली भने जोखिम मूल्याङ्कनको आधारमा remote access मार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ।

    राष्ट्र बैंकले भनेको छ, “बैंक तथा वित्तीय संस्थाले आफ्ना संवेदनशील प्रणाली सीमित कर्मचारीमार्फत सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्नुपर्नेछ। अन्य प्रणालीमा भने जोखिमको आधारमा रिमोट एसिसमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्नेछ।”

    शाखा र एटीएमबारे जानकारी दिन आग्रह

    त्यस्तै, सेवाग्राहीलाई सहज बनाउन बैंक तथा वित्तीय संस्थाहरूलाई सञ्चालनमा रहेका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी जानकारी आफ्ना वेबसाइटसामाजिक सञ्जाल मार्फत समयमै सार्वजनिक गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ।

    निषेधाज्ञा र वित्तीय प्रणालीमा प्रभाव

    भदौ २५ गतेदेखि सेनाले जारी गरेको निषेधाज्ञाले वित्तीय कारोबारमा चुनौती थपिएको छ। सर्वसाधारणले नगद झिक्ने, अत्यावश्यक कारोबार गर्ने र डिजिटल भुक्तानी प्रणाली प्रयोग गर्ने आवश्यकता बढिरहेको अवस्थामा राष्ट्र बैंकको यो निर्देशनले न्यूनतम सेवा निरन्तरता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

    सुरक्षा संवेदनशील परिस्थितिमा वित्तीय प्रणालीलाई चलायमान राख्न नेपाल राष्ट्र बैंकले दिएको यो निर्देशनले सर्वसाधारणलाई बैंकिङ सेवा बन्द हुने भय कम गर्ने र डिजिटल भुक्तानीप्रति विश्वास कायम राख्ने अनुमान गरिएको छ।

    Advertisement