सिड्नीमा (NSW) लगातार वर्षापछि Warragamba बाँधबाट पानी छोढियो, बाढीको उच्च जोखिम

spot_img

अष्ट्रेलियाको सिड्नीको outer south-west क्षेत्रमा अवस्थित वारेगाम्बा बाँध (Warragamba Dam) लगातारको मुसलधारे वर्षापछि क्षमताभन्दा बढी भरिँदै गएपछि शुक्रबार दिउँसोदेखि पानी बग्न थालेको छ।

WaterNSW का अनुसार बाँध दिउँसो १ बजेदेखि पानी बग्नु सुरु भएको हो। अनुमानअनुसार आगामी दिनमा दैनिक करिब ३० गिगालिटर (३० अर्ब लिटर) पानी बाहिरिनेछ, जुन यस महिनाको ५ अगस्टमा भएको पछिल्लो स्पिलभन्दा दोब्बर हो। तर यो दर ३ जुलाईमा भएको ६० गिगालिटर प्रतिदिनको स्पिल भन्दा भने अझै कम छ।

पूर्वानुमानभन्दा दोब्बर पानी

WaterNSW ले दिनको सुरुमा अनुमान गरेकोभन्दा दोब्बर पानी बाहिरिएको जनाएको छ। पछिल्ला केही दिनमा वारेगाम्बा बाँधको जलाधार क्षेत्रमा मात्रै ९० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो।

यस्तै, ग्रेटर सिड्नी क्षेत्रका Woronora, Cataract, Cordeaux, Nepean, Avon, Wingecarribee र Tallowa बाँधहरू समेत अहिले निरन्तर पानी छोडिरहेका छन्।

बाढी जोखिम अझै कायम

जल तथा मौसम विज्ञहरूले बाढीको जोखिम अझै उच्च रहेको बताएका छन्। मौसम विभाग (BoM) का मौसमविद् Angus Hines ले भन्नुभयो, “आजदेखि वर्षा क्रमशः कम हुँदै जानेछ, तर नदी प्रणालीसम्म पानी पुग्न अझै १२ देखि ३६ घण्टा लाग्न सक्छ।” उनका अनुसार यो जोखिम आगामी सप्ताहन्तसम्म रहन सक्छ।

BoM ले शुक्रबार बिहानसम्म NSW को उत्तरदेखि ग्रेटर सिड्नी क्षेत्रसम्मका नदीहरूमा बाढी चेतावनी जारी गरेको छ। विशेषगरी नामोई नदी (Namoi River) मा प्रमुख बाढी चेतावनी कायम रहेको छ।

सिड्नीमा रेकर्ड तोड्ने वर्षा

गएराति मात्र सिड्नीमा ८० मिलिमिटरभन्दा बढी वर्षा भएको छ, जुन अगस्ट महिनाको औसत मासिक वर्षाभन्दा बढी हो। Weatherzone का अनुसार बिहीबार २००७ पछि पहिलोपटक सिड्नीमा यति धेरै वर्षा भएको हो।

त्यस्तै, पोर्ट म्याक्वेरी क्षेत्रमा २४ घण्टामै २०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको मौसम विभागले जनाएको छ।

नागरिकलाई सतर्क रहन आग्रह

अधिकारीहरूले नदी किनार र प्रभावित क्षेत्रका स्थानीयलाई सतर्क रहन, तथा मौसम विभागको वेबपोर्टलमार्फत जारी हुने बाढी चेतावनीमा निरन्तर ध्यान दिन आग्रह गरेका छन्।

spot_img