
सिड्नी – अष्ट्रेलियन फुटबल लिग (AFL) ले एडीलेड क्रोजका स्टार खेलाडी इजाक रेनकिनलाई समलैङ्गिकविरोधी शब्द प्रयोग गरेको आरोपमा आगामी चार खेलका लागि निलम्बन गरेको छ। यस निर्णयसँगै रेनकिनले यो सिजनको फाइनल खेलहरू गुमाउने भएका छन्, जबसम्म क्रोजले प्रारम्भिक चरणमा पराजित भएर ग्राण्ड फाइनलसम्म पुग्दैन।
रेनकिनले गत खेलमा Collingwoodका एक खेलाडीलाई आपत्तिजनक शब्द प्रयोग गरेका थिए। उक्त घटना कोलिङउड डिफेन्डर ड्यान ह्यूस्टनसँगको झडपपछि भएको बताइएको छ। रेनकिनले दण्ड पाएको केही समयपछि नै आफूले प्रयोग गरेको शब्दप्रति खेद व्यक्त गर्दै सार्वजनिक माफी मागेका छन्।
AFL को इंटेग्रिटी युनिटको अनुसन्धानपछि बिहीबार उनलाई चार खेलको प्रतिबन्ध लगाइएको हो। AFL ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “रेनकिनले Collingwood प्रतिद्वन्द्वीलाई अत्यन्तै आपत्तिजनक समलैङ्गिकविरोधी शब्द प्रयोग गरेका थिए, जसले व्यक्तिको यौनिक पहिचान वा विविधतालाई होच्याउने र अपमान गर्ने काम गर्दछ।”
क्लब र AFL को प्रतिक्रिया
एडीलेड क्लबले सुरुवाती पाँच खेलको प्रतिबन्ध घटाउन मेडिकल रिपोर्टसहित बलियो तर्क प्रस्तुत गरेपछि दण्ड चार खेलमा झरेको बताइएको छ। AFL का कानूनी प्रमुख Stephen Meadeले भन्नुभयो, “रेनकिनले प्रयोग गरेको भाषा आपत्तिजनक, दुखदायी र खेलमैदानमा पूर्ण रूपमा अस्वीकार्य थियो। AFL मा यस्तो व्यवहार सह्य हुँदैन। होमोफोबियाको फुटबलमा कुनै स्थान छैन।”
साथै उहाले भन्नुभयो, “यो घटनाले LGBTQI+ समुदायलाई चोट पुर्याएको छ। यस वर्ष मात्रै यस्ता धेरै घटना घट्नु अझै सुधार आवश्यक भएको प्रमाण हो।” AFL ले रेनकिनलाई थप ‘Pride in Sport Training’ लिनुपर्ने आदेश पनि दिएको छ।

रेनकिनले आफैं पनि क्लबमार्फत सार्वजनिक गर्दै भनेका छन्, “मैले प्रयोग गरेको शब्द गलत थियो, म अत्यन्तै क्षमाप्रार्थी छु। त्यस्तो भाषा फुटबलमा वा समाजमा कुनै स्थान छैन। यो मेरो व्यक्तिगत मूल्य वा क्लबका मूल्यसँग मेल खाँदैन।”
क्लबको आधिकारिक धारणा
एडीलेडका सीईओTim Silversले रेनकिनको व्यवहारलाई “पूर्ण रूपमा अस्वीकार्य” भन्दै क्लब निराश भएको बताउनुभएको छ। उहाले भन्नुभयो, “हाम्रो संस्था विविधता र समावेशितामा आधारित छ। हामी खेलाडीलाई आवश्यक शिक्षा र सहयोग प्रदान गर्नेछौं, तर यस्तो शब्दप्रयोग हाम्रो मूल्यसँग विपरीत छ।”
विवाद र अन्य निलम्बनहरू
रेनकिनमाथिको निर्णयपछि AFL भित्र र बाहिर बहस चर्किएको छ। कतिपयले फाइनल खेललाई ‘सामान्य घरेलु खेलभन्दा बढी महत्व दिनुपर्ने हो कि ?’ भन्ने प्रश्न उठाएका छन्। AFL लाई अमेरिकी र्यापर स्नुप डगलाई ग्राण्ड फाइनलमा प्रदर्शन गर्न ल्याउने तर सोही शब्द प्रयोग गर्ने खेलाडीलाई कडा कारबाही गर्ने विषयमा पनि “द्वैध मापदण्ड” प्रयोग गरेको आरोप लागेको छ।
यसअघि सन् २०२५ मा अन्य खेलाडीहरू पनि उस्तै आरोपमा निलम्बित भएका छन्। सिड्नीका नयाँ खेलाडी रियाक एन्ड्र्यु पाँच खेल, सेन्ट किल्डाका लान्स कोलार्ड छ खेल र वेस्ट कोस्टका ज्याक ग्राहाम चार खेलका लागि निलम्बित भएका थिए।
फाइनलमा एडीलेडको सम्भावना
यदि एडीलेडले यस साताको खेलमा नर्थ मेलबर्नलाई हरायो भने उनी minor premiership जितेर शीर्ष स्थानमा रहनेछन्। तर, सम्भावित All-Australian खेलाडी रेनकिन विना टोलीलाई सेप्टेम्बरको निर्णायक खेलहरूमा ठूलो धक्का पुग्ने विश्लेषकहरूको भनाइ छ।
रेनकिनको अनुपस्थितिले क्रोजको आक्रमण पंक्तिमा कमजोरी आउने देखिएको छ। तर AFL ले भने स्पष्ट पारेको छ, “खेलमा विविधतालाई सम्मान गर्ने संस्कार अझै सबल बनाउनु अहिले सबैभन्दा प्राथमिकता हो।”






