
तेलअभिव – इजरायलले गाजा शहर कब्जा गर्ने योजनाअन्तर्गत आक्रमण सुरु गरेको छ। विश्वभरबाट भइरहेको तीव्र आलोचनाका बाबजुद इजरायली सेनाले मंगलबारदेखि गाजा क्षेत्रमा ठूलो सैन्य कारबाही थालिएको घोषणा गरेको हो।
इजरायली सेनाका अनुसार गाजा शहरको बाहिरी क्षेत्रमा उनीहरूले नियन्त्रण कायम गरिसकेका छन्। एक उच्च सैन्य कमाण्डरले भनेका छन् कि शहर कब्जाको तयारीका लागि जैतुन र जबालिया क्षेत्रमा सेनाको तैनाथी पहिल्यैदेखि गरिएको छ।
रक्षा मन्त्रालयको अनुमोदन
यो सैन्य अभियानलाई मंगलबार इजरायलका रक्षा मन्त्री इजरायल काट्ज ले मन्जुरी दिएका थिए। अहिले अभियानलाई यसै साताको अन्त्यसम्ममा सुरक्षा क्याबिनेटमा पेस गरिने तयारी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अन्तर्राष्ट्रिय विरोध र मानवीय चिन्ता
इजरायलको यस कदमप्रति अन्तर्राष्ट्रिय स्तरमा कडा आपत्ति र विरोध भइरहेको छ। विभिन्न राष्ट्र र मानवीय अधिकार संस्थाहरूले गाजा क्षेत्रमा भइरहेको सैन्य कारबाहीले सामान्य प्यालेस्टिनी नागरिकमा ठूलो मानवीय संकट निम्त्याउने चेतावनी दिएका छन्।
तर इजरायलले भने बारम्बार आफ्नो अभियान हमास लडाकुहरूलाई पूर्ण रूपमा समाप्त नगरेसम्म नरोकिने दाबी गर्दै आएको छ।
हमासको आरोप
हमासले इजरायलमाथि युद्धविराम सम्झौता उल्लङ्घन गरेको र निर्दोष नागरिकलाई निशाना बनाएको आरोप लगाएको छ। हमासले भनेको छ कि इजरायली सेनाको कारबाहीले ठूलो संख्यामा सर्वसाधारण मारिएका छन्।
पृष्ठभूमि
७ अक्टोबर २०२३ मा हमासका लडाकुहरूले गाजा क्षेत्रबाट इजरायलको किबुज क्षेत्रमा घुसपैठ गरी आक्रमण गर्दा १० नेपालीसहित करिब १,२०० जनाको ज्यान गएको थियो। त्यसपछिको आक्रमणलाई आधार मानेर इजरायलले युद्धको घोषणा गर्दै निरन्तर हमास र उसका समर्थकमाथि आक्रमण चालेको छ।
त्यसयता गाजा क्षेत्रमा हजारौँ मानिस विस्थापित भएका छन् भने मानवीय सहायता र स्वास्थ्य सेवा पुर्याउन निकै कठिनाइ भएको अन्तर्राष्ट्रिय संस्थाहरूले बताउँदै आएका छन्।
