उच्च प्रविधि भविष्यको तयारीका लागि Economic Summit गर्ने अल्बानीज सरकार

Advertisement

अष्ट्रेलिया, अगस्ट — अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आगामी तीन दिने आर्थिक सम्मेलनमार्फत देशलाई उच्च प्रविधि (हाई–टेक) भविष्यतर्फ अघि बढाउने तयारी भएको बताएका छन्।

प्रधानमन्त्रीका अनुसार सम्मेलनमा उठ्ने केही विचारहरू तुरुन्तै कार्यान्वयन गरिनेछ भने केहीलाई आगामी निर्वाचनमा जनतासामु लैजाने योजना छ।

खनिज उद्योग प्रदर्शनीमा सम्बोधन गर्दै अल्बानीजले AI, मेसिन लर्निङ र नवप्रवर्तनमार्फत भावी पुस्ताको कार्यजीवनलाई रूपान्तरण गर्ने सम्भावनाबारे प्रष्ट्याउनुभएको थियो।

आवास र विद्युतीय सवारीमा नयाँ पहल

सरकारले नयाँ आवास निर्माणलाई गति दिन नेशनल कन्स्ट्रक्सन कोड (NCC) लाई अस्थायी रूपमा स्थिर गर्ने र करिब ३० हजार आवास स्वीकृति रोकिएको वातावरणीय कागजी प्रक्रियालाई एआईमार्फत छिटो पार्ने योजना सार्वजनिक गरेको छ।

विद्युतीय सवारी (EV) सन्दर्भमा भने ईन्धन कर (fuel excise) को विकल्पस्वरूप रोड युजर चार्ज लागू गर्ने विषय सम्मेलनले अघि बढाउने तयारी गरेको छ।

विवादास्पद विषयहरू बाहिर

सरकारले सहमति सम्भावित क्षेत्रमा ध्यान केन्द्रित गर्ने भएकाले GST, नेगेटिभ गियरिङ वा क्यापिटल गेन्स करमा कुनै परिवर्तन नगर्ने स्पष्ट गरेको छ। त्यसैगरी श्रम ऐनमा तत्काल कुनै ठूलो संशोधन गर्ने चाहना पनि देखाएको छैन।

राजनीतिक प्रतिक्रिया

विपक्षी नेताहरूले श्रमिक युनियनहरू अत्यधिक प्रभावशाली भएको भन्दै आलोचना गरेका छन्। नेसनल्स नेता डेभिड लिट्लप्राउड ले “युनियनहरूले खेल चलाइरहेका छन्” भन्नुभएको छ। तर, कोषाध्यक्ष जिम चाल्मर्स ले भने ती आरोप अस्वीकार गर्दै विपक्षले सधैं मजदुरको तलब घटाउने र अवस्था बिगार्ने धारणा मात्रै प्रस्तुत गर्ने गरेको टिप्पणी गर्नुभयो।

चाल्मर्सले थपे, “तीन दिनको सम्मेलनले आगामी तीन वटा बजेटको आधार तय गर्नेछ।”

दीर्घकालीन लक्ष्य

अल्बानीज सरकारले यो आर्थिक सम्मेलनमार्फत २०२८ को निर्वाचनसम्म लैजान सकिने प्रस्तावहरू संकलन गर्ने, र देशको अर्थतन्त्रलाई भविष्य–सुरक्षित (future proof) गर्ने लक्ष्य लिएको छ।

spot_img