
ब्रिस्बेन– अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा ३५ वर्षीय एक पुरुषलाई १६ वर्षमुनिका बालबालिकासँग यौन सम्बन्ध राख्ने उद्देश्यले भेटघाट गर्न खोजेको आरोपमा पक्राउ गरिएको छ।
प्रहरीका अनुसार आरोपितले सामाजिक सञ्जालमार्फत आफूले बच्चा ठानेको व्यक्तिसँग सम्पर्क गरी भेटघाट गर्न खोजेका थिए। तर, सो व्यक्ती वास्तवमा अण्डरकभर (गोप्य) प्रहरी अधिकारी रहेको खुलासा भएको हो।
यसै हप्ताको सुरुमा क्विन्सल्याण्ड प्रहरीले बुकेन (Buccan) स्थित उनको घरमा छापा मार्दा विभिन्न इलेक्ट्रोनिक उपकरणहरू जप्त गरेको थियो। अनुसन्धानपछि उनलाई “इन्टरनेट प्रयोग गरी १६ वर्षमुनिका बालबालिकासँग भेट वा यौन सम्पर्कको प्रयास” अभियोगमा मुद्दा दायर गरिएको छ।
आरोपितलाई सशर्त धरौटीमा छोडिएको छ। उनलाई आगामी सेप्टेम्बर १० मा बिन्ली (Beenleigh) मजिस्ट्रेट अदालतमा उपस्थित गराइनेछ।
बालबालिका सुरक्षामा चुनौती
क्विन्सल्याण्ड प्रहरीले यस्ता घटनाले अनलाइन माध्यममार्फत बालबालिकामाथि बढ्दो खतरा स्पष्ट भएको जनाएको छ।
प्रहरीका कार्यवाहक निरीक्षक क्यामरन बर्क (Cameron Burke) ले अभिभावक र संरक्षकहरूलाई सन्तानले प्रयोग गर्ने एप्स, सेटिङ्स र सामाजिक सञ्जाल प्लेटफर्मबारे सजग रहन आग्रह गरेका छन्।
उहाले भन्नुभयो, “हाम्रो पहिलो प्राथमिकता बालबालिकाको सुरक्षा हो। अनलाइनमा बालबालिकाविरुद्ध कुनै पनि शंका लाग्दो वा अनुचित व्यवहार देखिए तुरुन्तै प्रहरीलाई जानकारी दिन आग्रह गर्दछौं।”
यो घटनाले अष्ट्रेलियामा अनलाइन यौन अपराधको जोखिमप्रति थप गम्भीर ध्यानाकर्षण गराएको छ।





