
भिक्टोरिया । क्षेत्रीय भिक्टोरियाका बासिन्दाले आफ्नै समुदायको आवश्यकता पूरा गर्न एकजुट हुँदै १६ लाख डलरभन्दा बढी रकम संकलन गरेका छन्। स्थानीय स्तरमै गरिएको यस ऐतिहासिक पहलमार्फत संकलित रकमलाई सामुदायिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, आपतकालीन सेवा तथा दीर्घकालीन योजनामा खर्च गर्ने तयारी गरिएको छ।
यो पहल विशेषगरी प्राकृतिक प्रकोपबाट पटक–पटक प्रभावित हुँदै आएको उत्तर–पूर्व भिक्टोरिया क्षेत्रमा निकै महत्त्वपूर्ण मानिएको छ। म्यान्सफिल्ड, वाङ्गारट्टा, अल्पाइन र इन्डिगो शायर समेटिएको यस क्षेत्रले विगतमा डढेलो, बाढी र आँधीबेहरीका कारण ठूलो जनधनको क्षति व्यहोरेको छ। २००९ को ब्ल्याक स्याटर्डे डढेलोपछि संघीय र राज्य सरकारले उपलब्ध गराउने सहयोग क्रमशः घट्दै गएपछि बासिन्दाले आत्मनिर्भर बन्ने निर्णय गर्दै Into Our Hands Community Foundation स्थापना गरेका थिए।
यस फाउण्डेशनको नेतृत्व हाल मेलबर्नबाट बसाइँ सरेकी सिल्भी ह्युगेन गर्नुभएको छ। उहाँले भन्नुभयो, “हामी प्रायः हप्तामा यो क्षेत्रमा घुम्न आउँथ्यौं, खर्च पनि यहीँ गर्थ्यौं। अन्ततः यहीँ बस्न र काम गर्न निर्णय गर्यौं।”
फाउण्डेशनले २०१२ देखि स्थानीय चन्दा संकलन गर्दै आएको छ। संकलित रकम प्रत्यक्ष रूपमा सामुदायिक परियोजनामा लगानी हुने गरेको छ भने केही अंशलाई ‘फ्युचर फण्ड’ मा राखिएको छ, जसलाई विपत्ति वा आकस्मिक अवस्थामा प्रयोग गर्न सकिन्छ।
अहिलेसम्म फाउण्डेशनले २६७ भन्दा बढी परियोजना र संस्थालाई सहयोग पुर्याइसकेको छ। उदाहरणका लागि, मर्टलफोर्डमा गरिएको फोन-अ-थोनमार्फत स्थानीयहरूले २० हजार डलरभन्दा बढी संकलन गरेका थिए, जसलाई आपतकालीन सेवा, सामुदायिक बगैँचा, खेलौनाको पुस्तकालय र लगानी कोषमा प्रयोग गरिएको थियो।
ह्युगेनका अनुसार, “उत्तर–पूर्व भिक्टोरियामा एउटै ठूलो शहर छैन, यहाँ छुट्टाछुट्टै पहिचान भएका स–साना समुदायहरू छन्। त्यसैले संकलित रकमले हरेक समुदायलाई आफ्नै आवश्यकताअनुसार फाइदा दिन सक्नेछ।”
समुदायकै नेतृत्वमा अघि बढाइएको यस अभियानलाई स्थानीय परिषद, व्यवसाय र सर्वसाधारणले खुलेर समर्थन गरेका छन्। यसले समुदायभित्र आपसी सहयोग र एकताको सन्देश फैलाएको छ।
फाउण्डेशनले अब क्षेत्रको दीर्घकालीन आवश्यकता पहिचान गरी योजनाबद्ध लगानी गर्ने तयारी गरिरहेको छ। ह्युगेन भन्छिन्, “समुदायको आवश्यकता समुदायकै आवाजबाट आउँदा मात्र यस्ता फाउण्डेशन सफल हुन्छन्।”
यसरी बासिन्दाले आफैं संकलन गरेको ठूलो रकमले समुदायप्रतिको दायित्वबोध मात्र होइन, आत्मनिर्भर विकासतर्फको स्पष्ट संकेत पनि दिएको छ।
