चीनको एकाधिकार तोड्न अष्ट्रेलियाको १ अर्ब डलरको दुर्लभ खनिजमा लगानी

Advertisement

पर्थको उत्तरी भागमा करिब तीन घण्टा दूरीमा रहेको खनिज क्षेत्र ईनेआबामा भेटिएको विशाल दुर्लभ खनिज भण्डारले अष्ट्रेलियालाई यस क्षेत्रको दशकौंदेखिको चिनियाँ प्रभुत्व चुनौती दिन सक्ने सम्भावना देखिएको छ। उजाड भू–भाग मुनि रहेको यो खानीमा करिब १० लाख टनभन्दा बढी दुर्लभ खनिज रहेको अनुमान गरिएको छ, जसको प्रयोग विद्युतीय सवारी साधन, पवन टरबाइन र अत्याधुनिक रक्षा प्रविधिमा गरिन्छ।यस सम्भावनालाई उपयोग गर्न अष्ट्रेलियाली सरकारले एक खानी कम्पनीलाई १ अर्ब डलर ऋण स्वीकृत गरेको छ, जसको उद्देश्य चीनबाहेक अन्य भरपर्दो आपूर्ति श्रृंखला निर्माण गर्नु हो।

यो कदम हालैका वर्षमा देखिएको आपूर्ति संकटपछि आएको हो, जसले चीनमा निर्भर रहँदा कस्तो जोखिम रहन्छ भन्ने स्पष्ट पारेको थियो। चीनले विश्वको अधिकांश दुर्लभ खनिज उत्पादन र प्रशोधनमा नियन्त्रण राखेको छ। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धका क्रममा बेइजिङले दुर्लभ खनिजको निर्यात सीमित गर्दा विश्वभरका उत्पादन उद्योगमा अवरोध आएको थियो। यसै क्रममा फोर्ड कम्पनीले दुर्लभ खनिजको अभावका कारण आफ्नो लोकप्रिय एक्सप्लोरर SUV को उत्पादन एक हप्ता रोक्नु परेको थियो। कम्पनीका प्रमुख कार्यकारी जिम फार्लीले आपूर्ति “दिन–प्रतिदिनको आधारमा” निर्भर भएको स्वीकार गरेका थिए।

यद्यपि पछि चीनले अमेरिकातर्फ दुर्लभ खनिज र चुम्बकको आपूर्ति पुनः सुरु गर्‍यो, तर दीर्घकालीन व्यापार सम्झौता नहुँदा फेरि अवरोधको खतरा कायम छ।उद्योग विज्ञहरूका अनुसार,अब पश्चिमी मुलुकहरू पछिपछि मात्र प्रतिस्पर्धामा उत्रिएका छन्।अष्ट्रेलियाको यो ठूलो दाउ अब ईनेआबाको धुलाम्य पहाडलाई सुरक्षित र विविध दुर्लभ खनिज आपूर्ति श्रृंखलाको आधारस्तम्भमा रूपान्तरण गर्ने लक्ष्यमा केन्द्रित छ, जसले भविष्यका प्रविधीका लागि महत्वपूर्ण स्रोतमा चीनको पकड कमजोर पार्न सक्छ।

spot_img