१५ वर्षपछि पहिलोपटक क्विन्सल्याण्डमा शिक्षकहरूको हड्ताल, ५.६ लाख विद्यार्थी प्रभावित

spot_img

ब्रिस्बेन, अष्ट्रेलियाको क्विन्सल्याण्डमा १५ वर्षपछि पहिलोपटक शिक्षकहरूले सामूहिक हड्ताल गर्दै सरकारविरुद्ध प्रदर्शन गरेका छन्। यस हड्तालका कारण करिब १२६६ सार्वजनिक विद्यालय र करिब ५ लाख ६० हजार विद्यार्थी प्रत्यक्ष प्रभावित भएका छन्।

शिक्षकहरूको छाता संगठन क्विन्सल्याण्ड शिक्षक संघ (QTU) को नेतृत्वमा भएको यस आन्दोलनमा करिब ४८ हजार शिक्षक सहभागी छन्। ब्रिस्बेन सहरको केन्द्रमा मात्रै करिब ४ हजार शिक्षक भेला भई र्याली गर्दै राज्य संसद् भवनतर्फ मार्च गरेका छन्। शिक्षकहरूले अभिभावकलाई आफ्ना छोराछोरीलाई घरमै राख्न आग्रह गरेका थिए।

QTU ले सरकारले अघि सारेको ३ वर्षमा ८ प्रतिशत तलब वृद्धिको प्रस्ताव अस्वीकार गर्दै, यस आन्दोलनको मूल उद्देश्य शिक्षक अभाव संकट समाधान र कार्यस्थल सुरक्षा वृद्धि भएको स्पष्ट पारेको छ। QTU अध्यक्ष क्रेस्टा रिचार्डसन ले भनिन्, “यो केवल तलब वृद्धिको प्रश्न होइन, यो त समुदायकै सरोकार हो। विद्यालयमा पर्याप्त योग्य शिक्षक सुनिश्चित गर्नु हाम्रो साझा जिम्मेवारी हो। अहिले शिक्षक अभाव संकट वास्तविक छ र ‘breaking point’ मा पुगेको छ।”

शिक्षा विभागले विद्यालयहरू खुला रहने भए पनि भ्रमण, क्यान्टिन, स्कुलपछिको कार्यक्रम जस्ता अतिरिक्त सेवाहरू विद्यालय–विद्यालयको निर्णयअनुसार मात्रै सञ्चालन हुने जनाएको छ।

शिक्षामन्त्री John-Paul Langbroek ले पछिल्ला केही महिनाभित्र मात्रै १८ पटक वार्ता भए पनि सहमति हुन नसकेको र अब थप वार्ता सम्भव नभएको बताए।

यसैबीच, सरकार र शिक्षक संघबीचको विवाद मिलाउन मुद्दा Queensland Industrial Relations Commission मा पुग्ने भएको छ।

spot_img