
सर्लाही । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका छन् । बुधबार विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले एउटा मुद्दामा एक वर्ष कैद सजाय निर्धारण गरेको हो ।
यस्तै उनी विरुद्दको अर्को मुद्दाको सजाय निर्धारणका लागि यही साउन २९ गते पेसी तोकिएको छ । अदालतका अनुसार बागमती नगरपालिकामा मूल्य अभिवृद्धि करसहित ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बराबरको नदीजन्य पदार्थको हानि नोक्सानी गरेको पुष्टि गरेको छ ।
अदालतले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अन्तर्गतको कसूरमा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि यहि साउन २९ गते पेशी तोकेको छ । त्यसैगरी, प्रतिवादी लिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीलाई आरोप अनुसारको कसूर प्रमाणित नदेखिएकाले सफाइ दिएको छ ।
अदालतले थापालाई गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर गरेको हो । थापालाई यो मुद्दामा एक वर्ष कैद र बिगो बराबर ३ करोड ४५ लाख २२ हजार ३८७ रूपैयाँ २३ पैसा जरिवाना तोकिएको छ ।
थापाको सम्पूर्ण आय र व्यय मूल्याङ्कन गर्दा उनको कुल आय ९ करोड १४ लाख ३१ हजार रुपैयाँ ९१ पैसा रहेकोमा कुल व्यय १२ करोड ५९ लाख ५३ हजार रुपैयाँ १४ पैसा रहेको देखिएको फैसलामा उल्लेख छ ।
यस अनुसार थापाले ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ २३ पैसा बराबरको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको प्रमाणित भएकोले उनलाई एक वर्ष कैद र त्यति नै बराबरको जरिवाना हुने ठहर अदालतले गरेको छ ।
सो सम्पत्ति र त्यसबाट बढाइएको सम्पत्ति जफत हुने पनि अदालतले आदेश दिएको छ । यस्तै विशेष अदालतले थापालाई नदीजन्य पदार्थ हानि नोक्सानी गरेको मुद्दामा पनि उनलाई कसुरदार ठहर गरेको छ सो मुद्दामा सजाय निर्धारणका लागि साउन २९ मा पेस गर्न आदेश भएको छ ।
