
काठमाडौं । सर्वोच्च अदालतले ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेशनल (ओबीसीआई) प्रालिको पक्षमा फैसला सुनाएको छ।
कोभिड–१९ महामारीका बेला स्वास्थ्य सामग्री खरिदसम्बन्धी विवादपछि स्वास्थ्य सेवा विभागले ओम्नीलाई कालोसूचीमा राख्ने सिफारिस गर्दै भुक्तानी रोक्का गरेको थियो। त्यसविरुद्ध ओम्नीले सर्वोच्चमा रिट दायर गर्दै ४० करोड क्षतिपूर्ति माग गरेको थियो।
सोमबार न्यायाधीश मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको इजलासले ओम्नीको पक्षमा रिट जारी गरेको सर्वोच्चले जनाएको छ।
महामारी फैलिँदै गएपछि चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि विभागले ओम्नीसँग सम्झौता गरेको थियो। तर, पहिलो लटको सामग्री ल्याएपछि थप सामग्री ल्याउन नसकेको र ल्याइएको सामग्री गुणस्तरमा कमजोर भएको भन्दै विभागले सम्झौता रद्द गर्ने र बैंक जमानत जफत गर्ने निर्णय गरेको थियो।
यस प्रकरणबारे लामो समयदेखि विवाद हुँदै आएकोमा अहिले सर्वोच्चको फैसलाले नयाँ मोड लिएको छ।
