
अष्ट्रेलिया विश्वको दोस्रो उच्चतम औसत सम्पत्ति आर्जन गर्ने मुलुक बनेको छ। स्विस बैंक यूबीएस (UBS) ले हालै सार्वजनिक गरेको ग्लोबल वेल्थ रिपोर्ट २०२५ अनुसार अष्ट्रेलियाको प्रति वयस्क औसत सम्पत्ति २ लाख ६८ हजार अमेरिकी डलर (करिब ४ लाख ११ हजार अष्ट्रेलियन डलर) पुगेको छ।
यस आधारमा अष्ट्रेलिया युरोपेली मुलुक लक्जमबर्गभन्दा केही कम भए पनि विश्वमै दोस्रो स्थानमा पर्न सफल भएको हो। लक्जमबर्ग यस वर्ष पनि पहिलो स्थानमा रहेको छ।
रिपोर्टले देखाएको तथ्यांकअनुसार अष्ट्रेलियामा करोडपतिहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। अष्ट्रेलियाली घरपरिवारहरूको सामूहिक सम्पत्तिमा मात्र करिब १०.५ ट्रिलियन अष्ट्रेलियन डलर बराबरको आवासीय जग्गा र आवास रहेको पाइएको छ। यसले अष्ट्रेलियाको सम्पत्ति संरचनामा अचल सम्पत्तिको ठूलो हिस्सा रहेको प्रष्ट देखाएको छ।
तर नगद र निक्षेपमा राखिएको सम्पत्तिको अनुपात भने तुलनात्मक रूपमा कम छ। कुल सम्पत्तिको केवल १० प्रतिशतभन्दा केही माथि मात्र नगद र निक्षेप रहेको रिपोर्टमा उल्लेख छ। यसले अष्ट्रेलियालीहरूको सम्पत्ति संरचना मुख्यतया आवासीय सम्पत्तामाथि निर्भर रहेको देखाएको छ।
यूबीएसको ग्लोबल वेल्थ रिपोर्ट २०२५ ले अष्ट्रेलियालाई विश्व बजारमा उच्च क्रयशक्ति र सम्पत्ति वृद्धिका हिसाबले अग्रणी मुलुकका रूपमा प्रस्तुत गरेको छ। आर्थिक स्थिरता, आवास बजारको मूल्य वृद्धी र वित्तीय अवसरहरूको पहुँचले अष्ट्रेलियाको सम्पत्ति वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको रिपोर्टमा उल्लेख छ।
तर विश्लेषकहरूले सम्पत्ति वृद्धिसँगै असमानता पनि बढेको चेतावनी दिएका छन्। धेरै अष्ट्रेलियालीहरू सम्पत्तिको मूल्यवृद्धिबाट लाभान्वित भए पनि, केही वर्ग अझै घरजग्गा किन्न असमर्थ छन्। विशेषगरी युवा पुस्ता र भाडामा बस्ने वर्गलाई यसले थप चुनौती सिर्जना गरेको देखिन्छ।
अष्ट्रेलियामा करोडपति बढ्नु र औसत सम्पत्ति विश्वमै दोस्रो स्थानमा पुग्नु आर्थिक समृद्धिको सूचक भए पनि, यसले भविष्यमा आवास बजार, नगद प्रवाह र सामाजिक असमानतामा कस्तो प्रभाव पार्छ भन्ने विषयमा व्यापक बहस सुरु भएको छ।
