
सिड्नी । अष्ट्रेलियाको केन्द्रीय बैंक (Reserve Bank of Australia – RBA) ले उपभोक्ताको आर्थिक बोझ कम गर्ने उद्देश्यसहित कार्डमार्फत भुक्तानी गर्दा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी गरेको छ ।
हाल उपभोक्ताले कार्ड प्रयोग गर्दा वार्षिक करिब १.२ बिलियन डलर अतिरिक्त शुल्क तिर्नुपरेको तथ्यांक सार्वजनिक भएको छ । RBA का अनुसार यो शुल्क अनावश्यक रूपमा उपभोक्तामाथि परेको वित्तीय भार हो, जसलाई अब अन्त्य गर्ने निर्णय लिइँदैछ ।
बैंकले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “उपभोक्ताले दैनिक जीवनका सामान वा सेवाको भुक्तानी गर्दा कार्ड प्रयोग गर्दा निरन्तर अतिरिक्त शुल्क तिर्नु परेको छ, जसलाई रोक्न नयाँ व्यवस्था ल्याउन लागिएको हो ।”
हाल यस विषयमा विभिन्न क्षेत्रका सरोकारवालासँग सुझाव संकलन भइरहेको छ । सम्भावित रूपमा यो व्यवस्था सन् २०२६ जुलाईदेखि लागू गर्ने तयारी भइरहेको RBA ले जनाएको छ ।
विशेषज्ञहरूले यो कदमलाई सकारात्मक भन्दै यसले करोडौं उपभोक्ताको रकम बचत हुने, वित्तीय पारदर्शिता बढ्ने र डिजिटल भुक्तानी प्रणालीमा अझ विश्वास पैदा गर्ने अपेक्षा व्यक्त गरेका छन् ।
