नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ५० अर्ब तरलता तान्ने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता सङ्कलन गर्ने भएको छ। आइतबारका लागि तोकिएको यो विशेष सङ्कलन प्रक्रियाको सूचना राष्ट्र बैंकले सार्वजनिक गरेको हो।

राष्ट्र बैंकले प्रकाशित गरेको सूचनाअनुसार, यो तरलता सङ्कलन ४२ दिन अवधिको हुनेछ। संकलित रकमको साँवा तथा ब्याज भुक्तानी आगामी भदौ २९ गते तोकिएको छ।

बोलकबोल प्रक्रियामार्फत हुने यस सङ्कलनमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले मात्र भाग लिन सक्नेछन्। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँको प्रस्ताव राख्नुपर्ने व्यवस्था छ। प्रस्तावित रकम ५ करोडको गुणानुपातमा तोकिएको दरमा भाग लगाइने र बाँकी रकम निःशेष भागसम्म स्वीकृत गरिनेछ।

राष्ट्र बैंकले देशको मौद्रिक तथा वित्तीय प्रणालीलाई सन्तुलित राख्न विभिन्न किसिमका अल्पकालीन मौद्रिक उपकरणहरू प्रयोग गर्दै आएको छ। यसअघि पनि राष्ट्र बैंकले नियमित रूपमा तरलता व्यवस्थापनका लागि यस किसिमका सङ्कलन कार्य गर्दै आएको थियो।

आर्थिक विश्लेषकहरूका अनुसार, यस कदमले बजारमा देखिएको अतिरिक्त तरलता सन्तुलनमा राख्न मद्दत गर्नेछ भने मुद्रास्फीति नियन्त्रण र मौद्रिक नीतिको कार्यान्वयनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

spot_img