अष्ट्रेलियामा निःशुल्क दन्त उपचार योजनाबाट हरेक वर्ष १५ लाखभन्दा बढी बच्चा वञ्चित

spot_img

अष्ट्रेलियामा बालबालिकाका लागि उपलब्ध निःशुल्क दन्त उपचार योजना प्रभावकारी रूपमा प्रयोग नहुँदा हरेक वर्ष करिब १५ लाखभन्दा बढी बच्चा यसबाट वञ्चित हुने गरेका छन्।

अष्ट्रेलियन डेन्टल एसोसिएसन (ADA) को ताजा सर्वेक्षणअनुसार सरकारको Child Dental Benefits Schedule (CDBS) अन्तर्गत जन्मदेखि १७ वर्षसम्मका बालबालिकालाई निःशुल्क दन्त उपचार उपलब्ध भए पनि पात्र परिवारमध्ये केवल एक–तिहाइले मात्र यसको लाभ लिएका छन्।

सर्वेक्षणले योजनाबारे ठूलो भ्रम, जानकारीको कमी र प्रचार–प्रसार अभाव रहेको पाइएको छ। धेरै अभिभावकले योजना अस्तित्वमै नभएको वा आफू पात्र नपर्ने सोच्दा सुविधा लिन चुकेका छन्। पात्र भएको विश्वास गर्ने अभिभावकमध्ये पनि मात्र ५६ प्रतिशतले आफ्ना बच्चाका लागि यो सुविधा प्रयोग गरेको तथ्याङ्क देखिन्छ।

यस कारण धेरै अष्ट्रेलियाली बालबालिका दन्त स्वास्थ्य समस्याको जोखिममा रहेको ADA ले चेतावनी दिएको छ। ADA का अध्यक्ष डा. क्रिस सान्जारोले भने,
“यस योजनाले बच्चाको पहिलो दन्त जाँचदेखि आवश्यक उपचारसम्म कभर गर्न सक्छ। तर लाखौं परिवार अझै यसबारे अञ्जान छन् वा अनावश्यक रूपमा बढी खर्च गरिरहेका छन्। सरकारले स्पष्ट प्रचार–प्रसार गर्नैपर्छ।”

CDBS अन्तर्गत पात्र परिवारका बालबालिकाले दुई वर्षभित्र प्रयोग गर्न सकिने गरी अधिकतम ११३२ अष्ट्रेलियन डलरसम्मको निःशुल्क उपचार पाउने व्यवस्था छ। यसमा दन्त परीक्षण, एक्स–रे, दाँत सफा गर्ने, फिसर सिलिङ, फिलिङ, रुट क्यानालदेखि दाँत निकाल्ने सेवासम्म समावेश छन्।

डा. सान्जारोले थपे,
“हामी सरकारसँग मिलेर योजनाबारे आधारभूत जानकारी स्पष्ट पार्न र अभिभावकसम्म पु-याउन इच्छुक छौं, ताकि लाखौं बालबालिकाले जीवनको सुरुवातमै स्वस्थ दन्त स्वास्थ्य पाउन सकून्।”

निःशुल्क दन्त योजना भए पनि जानकारी र प्रचार–प्रसारको कमीले अझै धेरै अष्ट्रेलियाली बालबालिकाले यसबाट लाभ लिन नसकेको तथ्य सार्वजनिक भएको छ।

spot_img