प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघीय सम्मेलनका लागि ४ दिने तुर्कमेनिस्तान भ्रमणमा

Advertisement

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन आइतबार प्रस्थान गर्ने भएका छन्।

यो सम्मेलन आगामी साउन २० देखि २३ गतेसम्म ( अगस्ट ५–८, २०२५) सञ्चालन हुनेछ। प्रधानमन्त्री ओली तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा सम्मेलनमा सहभागी हुन लागेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरो (Global Coordination Bureau of LDCs) का अध्यक्षका रूपमा सम्बोधन गर्नेछन्। साथै, उनले सम्मेलनको एक उच्चस्तरीय गोलमेच बैठकको सह–अध्यक्षता गर्ने र विभिन्न विषयगत सत्रहरूमा समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सम्मेलनको अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका प्रतिनिधिमण्डल प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। साथै, उनले संयुक्त राष्ट्रसंघका अधिकारी, अन्तर्राष्ट्रिय संस्थाका पदाधिकारी र सहभागी अन्य उच्चपदस्थ व्यक्तिहरूसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय संसद्का सदस्य सूर्यबहादुर थापा क्षेत्री, तथा विभिन्न मन्त्रालयका उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री ओली आगामी साउन २३ गते (अगस्ट ८, २०२५) स्वदेश फर्कने कार्यक्रम छ।

spot_img