सिड्नीमा फुटबल क्लब ब्यान्क्सिया टाइगर्समाथि विवाद, स्थानीय समुदाय आक्रोशित

Advertisement

सिड्नी — सिड्नीको ब्यान्क्सिया क्षेत्रमा रहेको स्थानीय फुटबल क्लब ‘ब्यान्क्सिया टाइगर्स’ लगातार झगडा, आक्रमण र दुर्व्यवहारका घटनामा मुछिँदै आएको भन्दै स्थानीय समुदाय आक्रोशित बनेको छ। उनीहरूले क्लब बन्द गर्नुपर्ने मागसमेत सार्वजनिक रूपमा अघि सारेका छन्।

शनिबार दिउँसो ब्यान्क्सिया स्थित गार्डिनर पार्कमा ‘ब्यान्क्सिया टाइगर्स’ र ‘स्कट्स एफसी लायन्स’बीचको खेल भइरहेका बेला अचानक दर्शकहरू मैदानमा प्रवेश गर्दै विपक्षी खेलाडीहरूमाथि आक्रमण गरेका थिए। प्रहरीले घटनाको पुष्टि गर्दै २० वर्षीय एक युवकमाथि आक्रमण भएको र खेल त्यहीं रोकिएको जनाएको छ।

९न्यूजले क्लबसँग घटना सम्बन्धी प्रतिक्रिया माग्दा क्लब प्रतिनिधिहरूले कुनै टिप्पणी गर्न अस्वीकार गरे र उल्टै प्रहरी बोलाएका थिए।

स्थानीय बासिन्दाहरूका अनुसार, यस्ता झगडा र हिंसात्मक गतिविधि क्लबको घरेलु मैदानमा नियमितजस्तै भएका छन्। एक स्थानीयले भने, “हामी यहाँ हरेक सप्ताहन्त त्रासमा बाँचिरहेका छौं। केही परिवार र जोडीहरू त डरका कारण यो क्षेत्र नै छोडिसकेका छन्।”

यसबीच, एक महिना अघिको अर्को विवादास्पद घटनामा क्लबका एक खेलाडीले विपक्षी समर्थकमाथि खेलपछि टाउकोमा लात हानेको भिडियो सार्वजनिक भएपछि उक्त घटनाको पनि अनुसन्धान सुरु भएको छ। भिडियो सार्वजनिक भएपछि क्लबमा अनुशासनको गम्भीर प्रश्न उठाइएको छ।

समुदायले क्लबको आन्तरिक व्यवस्थापन र सुरक्षा संयन्त्रमाथि शंका व्यक्त गर्दै निरन्तर हुने हिंसात्मक घटनाहरूले ब्यान्क्सिया क्षेत्रको शान्ति र सामाजिक सद्भावमा नकारात्मक असर पारिरहेको आरोप लगाएका छन्।

प्रशासनले घटनाहरूको विस्तृत अनुसन्धान भइरहेको बताउँदै दोषीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ। क्लबको भविष्यबारे थप निर्णय समुदायको आवाज र अनुसन्धानको निष्कर्षअनुसार तय हुने जनाइएको छ।

spot_img