
सिड्नी — अष्ट्रेलियामा रिटायर्मेन्ट अब धेरैका लागि सहज रहन नसक्ने संकेत देखिन थालेको छ। Finder द्वारा गरिएको ताजा अध्ययन अनुसार, चार मिलियनभन्दा बढी अष्ट्रेलियनहरू रिटायर्मेन्टपछिको आर्थिक सुरक्षाबारे चिन्तित छन्।
उक्त रिपोर्ट अनुसार, करिब २० प्रतिशत अष्ट्रेलियनले आफूले सुपर एन्युएसन वा अन्य लगानीहरूबाट पर्याप्त रकम नपाउने भन्दै जीवनभर काम गरिरहनुपर्ने अवस्था आउने डर व्यक्त गरेका छन्। यस्तै, पाँचमध्ये एक जनाले भने रिटायर्मेन्टपछि आफ्नो दैनिक खर्च कटौती गर्नुपर्ने अवस्था आउने जनाएका छन्।
अभावमै रिटायर्मेन्ट?
Association of Superannuation Funds of Australia का अनुसार, अष्ट्रेलियामा आरामदायी रिटायर्ड जीवन बिताउन एकल व्यक्तिको लागि कम्तीमा ५९५,००० डलर र दम्पतीका लागि ६९०,००० डलर बचत आवश्यक हुन्छ। तर, अष्ट्रेलियन ट्याक्सेसन अफिस (ATO) का पछिल्ला तथ्यांकले यस अवस्थालाई चिन्ताजनक बनाएको छ — औसत सुपर फन्ड १,७२,००० डलरमा सीमित छ भने मध्य मान (median) पुरुषका लागि ६६,००० डलर र महिलाका लागि मात्र ५२,००० डलर रहेको छ।
Finder की वित्तीय विशेषज्ञ पास्काले हेल्यार–मोरी भन्छिन्, “पर्याप्त सुपर वा बचत नभएमा लाखौं अष्ट्रेलियनहरू भविष्यमा आर्थिक संकट भोग्न बाध्य हुनेछन्। धेरैलाई अब रिटायर्मेन्टभन्दा पहिले नै पैसाको आवश्यकता पर्ने देखिएको छ।”

एज पेन्सनको भरपर्दो स्थिति छैन
वैकल्पिक रूपमा धेरैले सरकारको Age Pension मा भर पर्न सक्ने अनुमान गरिए पनि, हेल्यार–मोरीको चेतावनी अनुसार त्यो सबैको लागि उपलब्ध नहुन सक्छ। “एज पेन्सन ग्यारेन्टी छैन,” उनले भनिन्, “तपाईंको सम्पत्तिले नै तपाईंलाई अपात्र ठहर गराउन सक्छ।”
राहतका उपाय: माइक्रो रिटायर्मेन्ट र सालरी स्याकरिफाइस
यस सन्दर्भमा, अष्ट्रेलियनहरू अब नयाँ रणनीतिहरू अपनाउन थालेका छन्। धेरैले “माइक्रो रिटायर्मेन्ट” को अभ्यास गरिरहेका छन् — जसमा मानिसहरूले पाँचदेखि दश वर्षको अन्तरालमा छोटो अवधि कामबाट विश्राम लिन्छन्।
अर्को उपाय हो “सालरी स्याकरिफाइस” — जसमा व्यक्तिहरू आफ्ना तलबको केही अंश सिधै सुपर फन्डमा पठाउँछन्। यसले करमा राहत दिने मात्र होइन, दीर्घकालीन बचत पनि बढाउने विश्वास गरिन्छ। हेल्यार–मोरीका अनुसार, “सुपर आय ३०,००० डलरभन्दा कम भएमा त्यसमा अधिकतम १५% कर लाग्छ, जसले सम्पत्ति बढाउन सहयोग पुर्याउँछ।”
निरन्तर समीक्षा आवश्यक
उनले सुपर फन्डको नियमित अनुगमन गर्नसमेत सल्लाह दिइन्। “धेरै मानिसहरू अझै पनि कमजोर फन्डमा अड्किएका छन्, जसले भविष्यमा असर पार्न सक्छ। त्यसैले आफ्नो फन्डको प्रदर्शन जाँच गर्नु, र नियोक्ताबाट १२% सुपर ग्यारेन्टी योगदान समयमै भइरहेको छ कि छैन भन्ने सुनिश्चित गर्नु अति आवश्यक छ,” उनले स्पष्ट पारिन्।
यो तथ्यले देखाउँछ कि अष्ट्रेलियामा अब रिटायर्मेन्ट सुरक्षित र सहज भविष्यका लागि ग्यारेन्टी होइन। योजनाबद्ध बचत, सही लगानी, र कर रणनीतिहरूको सही प्रयोगले मात्र नागरिकहरूले भविष्यको आर्थिक संकटबाट जोगिन सक्नेछन्।





