अष्ट्रेलियाको अग्रसरता: गाजामा युद्ध अन्त्य र सहायता खोल्न २५ देशको संयुक्त अपिल

अष्ट्रेलिया, बेलायत, फ्रान्ससहित २५ देशका विदेशमन्त्रीहरूले गाजामा जारी द्वन्द्व अन्त्य गर्न र इजरेलले लगाएको मानवीय सहायता प्रतिबन्ध तत्काल हटाउन संयुक्तरूपमा अपिल गरेका छन्।

एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले गाजामा मानवीय संकट दिनप्रतिदिन गहिरिँदै गएको उल्लेख गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “हामी सबैले एउटै सरल र अत्यावश्यक सन्देश दिन चाहन्छौं — गाजामा युद्ध अन्त्य हुनुपर्छ।”

इजरेली नाकाबन्दीप्रति गम्भीर चासो
विज्ञप्तिमा इजरेली सरकारले अपनाएको सहायता वितरण मोडेलप्रति कडा आलोचना गर्दै यसलाई ‘खतरनाक, अस्थिरता निम्त्याउने र गाजावासीको मानव मर्यादा खोस्ने’ कदमको रूपमा उल्लेख गरिएको छ।
साथै, हमासद्वारा अपहरणमा परेका सबै बन्धकहरूको तत्काल र बिना सर्त रिहाइको माग समेत गरिएको छ।

हस्ताक्षरकर्ता राष्ट्रहरू
उक्त अपिलमा हस्ताक्षर गर्ने देशहरूमा अष्ट्रेलिया, अस्ट्रिया, बेल्जियम, क्यानडा, डेनमार्क, एसटोनिया, फिनल्याण्ड, फ्रान्स, आइसल्याण्ड, आयरल्यान्ड, इटाली, जापान, लाट्भिया, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्याण्ड्स, न्यूजील्यान्ड, नर्वे, पोल्याण्ड, पोर्चुगल, स्लोभेनिया, स्पेन, स्विडेन, स्वीट्जरल्याण्ड र बेलायत रहेका छन्।

गाजाको अवस्था गम्भीर
गाजामा अहिले लाखौं नागरिक भोक, रोग र असुरक्षाको चपेटामा परेका छन्। इजरेली नाकाबन्दी र सहायता रोकिएको विरोधमा प्यालेस्टिनी नागरिकहरू लगातार प्रदर्शनमा उत्रिरहेका छन्।

मानव अधिकारकर्मीहरूले गाजामा यथाशीघ्र युद्धविराम, आपतकालीन राहतको अबाध आपूर्ति र नागरिक सुरक्षाको प्रत्याभूति गर्न आह्वान गरिरहेका छन्।