
७ साउन, काठमाडौं । संघीय निजामती सेवा विधेयकमा परेका संशोधनहरू संसद् सचिवालयले अझै सार्वजनिक नगरेको भन्दै आलोचना सुरु भएको छ। राष्ट्रिय सभामा विचाराधीन उक्त विधेयक हाल विधायन व्यवस्थापन समितिमा दफावार छलफलका लागि पुगेको छ।
३१ असारमा राष्ट्रिय सभामा सैद्धान्तिक छलफल सकिएपछि ७२ घण्टाभित्र ४३ जना सांसदले १६ वटा समूहमा संशोधन प्रस्ताव दर्ता गरेका थिए। तर, कुन सांसदले कुन दफामा के संशोधन प्रस्ताव राखे भन्ने विषयमा संसद् सचिवालयले चुप्पी साधेको छ।
विशेषगरी सरकारी कर्मचारीका लागि प्रस्तावित ‘कुलिङ पिरियड’को प्रावधानलाई लिएर विवाद चुलिएको छ। प्रतिनिधि सभाबाट पारित विधेयकमा राजीनामा वा अवकाशपछि दुई वर्षसम्म संवैधानिक, कूटनीतिक वा अन्य नियुक्तिमा रोक लगाउने व्यवस्था गरिएको छ।
यही प्रावधानलाई हटाउने या परिमार्जन गर्ने प्रस्तावसँगै दलहरूबीच मतभेद देखिएको छ। नेकपा एमालेका सांसदहरूले ‘कुलिङ पिरियड’को प्रावधान नै हटाउने संशोधन प्रस्ताव दर्ता गराएका छन् भने सत्तासहयोगी नेपाली कांग्रेसले भने उक्त प्रस्ताव फिर्ता लिन सुझाव दिएको छ।
कांग्रेस सांसद नारायण दत्त भट्टले राष्ट्रिय सभाको मंगलबारको बैठकमा सहमत विपरीत संशोधन दर्ता गरिएको भन्दै असन्तुष्टि जनाउँदै चेतावनीसमेत दिएका छन्। उनले कुलिङ पिरियड हटाउने होइन, बरु दुई वर्षबाट चार वर्ष पुर्याउनु उपयुक्त हुने तर्क राखेका छन्।

कांग्रेसका अधिकांश सांसदहरूले भने दुई वर्षे प्रावधानमै समर्थन जनाएका छन्। उता, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कुलिङ पिरियडलाई तीन वर्ष बनाउने संशोधन प्रस्ताव दर्ता गराएको छ।
यसबीच, कुलिङ पिरियडसम्बन्धी भाषाशैली र कार्यान्वयनका विषयमा उठेका प्रश्नहरू छानबिन गर्न नेपाली कांग्रेसका सांसद जीवन परियारको संयोजकत्वमा संसदीय विशेष छानबिन समिति पनि गठन गरिएको छ। समितिको छानबिन जारी रहँदै गर्दा राष्ट्रिय सभामा विधेयकको दफावार छलफल अघि बढाइएको हो।
तर, संशोधनहरू सार्वजनिक नगर्ने संसद् सचिवालयको निर्णयले पारदर्शितामाथि प्रश्न उठाएको छ। राजनीतिक दलको दबाबका कारण संशोधन सार्वजनिक नगरिएको हो कि भन्ने आशंका बढेको छ। सचिवालयका अधिकारीहरू भने संशोधनहरू एकीकृत गर्ने प्रक्रिया बाँकी रहेकाले हालै सार्वजनिक गर्न नसकिएको बताउँछन्।
यसरी, विधेयक पारित हुनु पूर्वै दलहरूबीच देखिएको मतभेद र प्रक्रिया पारदर्शितामाथि उठेका प्रश्नले निजामती सेवा विधेयकको भविष्य अझ जटिल बनाउने देखिएको छ।





