ब्याटमा कसरी उत्पत्ति हुन्छ नयाँ कोरोना भाइरस? अष्ट्रेलियाली वैज्ञानिकहरूको अनुसन्धानले दियो महत्त्वपूर्ण संकेत

spot_img

सिड्नी — अष्ट्रेलियाको एक नवीन वैज्ञानिक अध्ययनले ब्याट (चुँडामुसी) मा कोरोना भाइरस कसरी र कुन अवस्थामा उत्पन्न हुन्छ भन्ने विषयमा नयाँ र महत्त्वपूर्ण जानकारी उजागर गरेको छ। ‘नेचर कम्युनिकेसन्स’ नामक प्रतिष्ठित वैज्ञानिक जर्नलमा हालै प्रकाशित उक्त अध्ययन अनुसार, युवा र किशोर ब्याटहरूमा कोरोना भाइरसको संक्रमण दर अत्यधिक देखिएको छ, जुन अन्य प्रजातिमा सर्ने सम्भावनासँग जोडिएको हुन सक्छ।

सिड्नी विश्वविद्यालयको स्कूल अफ भेटेरिनरी साइन्स अन्तर्गत डा. एलिसन पिलको नेतृत्वमा गरिएको सो अध्ययनमा अनुसन्धान टोलीले तीन वर्षको अवधिमा २५०० भन्दा बढी मलको नमुना संकलन गरेका थिए। नमुनाहरू ब्ल्याक फ्लाइङ फक्सग्रे-हेडेड फ्लाइङ फक्स जातका ब्याटहरूबाट लिइएका थिए, जसमा विविध प्रकारका कोरोना भाइरसहरूको उपस्थिति पाइएको हो।

किशोर ब्याटमा भाइरसको उच्च संक्रमण

अनुसन्धानमा उल्लेख गरिएको छ कि मार्चदेखि जुलाई महिनाको बीच, जब ब्याटहरू दूध छोड्ने र परिपक्व हुँदै जाने अवस्थामा हुन्छन्, त्यस समयमा भाइरस संक्रमणको दर उच्च देखिएको छ। डा. पिलका अनुसार, त्यही उमेर समूहका ब्याटहरूमा एउटै समयमा धेरै कोरोना भाइरसको सह-संक्रमण (co-infection) पनि देखिएको छ।

“हामी युवा ब्याटहरूमा यति धेरै सह-संक्रमण भएको देखेर अचम्ममा पर्यौं,” डा. पिलले भनिन्, “सह-संक्रमणले एउटै कोषभित्र एकभन्दा बढी भाइरसलाई प्रवेश गर्ने मौका दिन्छ, जसले गर्दा नयाँ भाइरस प्रजातिहरू उत्पन्न हुने सम्भावना हुन्छ।”

मानिसमा नफैलिने भाइरसको पहिचान

अनुसन्धानमा नोबेकोभाइरस (Nobecoviruses) समूहका छ वटा कोरोना भाइरसको पहिचान गरिएको छ, तीमध्ये तीन नयाँ भाइरस प्रजाति पहिलोपटक पत्ता लागेका हुन्। यस्ता भाइरसहरू सामान्यतः ब्याटमै सीमित रहन्छन् र मानिसमा सिधा संक्रमण नहुने बताइएको छ। तर वैज्ञानिकहरूले सावधानी अपनाउँदै भनेका छन् कि बीचको कुनै ‘ब्रिज होस्ट’ अर्थात् जनावरको माध्यमबाट यस्ता भाइरसहरू मानिसमा सर्न सक्ने सम्भावना रहन्छ।

भविष्यको जोखिमलाई पूर्वानुमान गर्ने संकेत

सोही अध्ययनका सह–अनुसन्धानकर्ता डा. जोन सेबास्टियन इडनले भने, “हामीले ब्याटमा भाइरसको प्राकृतिक संचारलाई सुरक्षित रूपमा ट्र्याक ग¥यौं र जेनेटिक प्रविधिमार्फत संक्रमण कहाँबाट उत्पन्न भयो भन्ने पत्ता लगायौं।”

उहाँका अनुसार, यो अध्ययनले विश्वभरका वैज्ञानिकहरूलाई कोरोना भाइरसको उत्पत्तिबारे गहिरो बुझाइ दिने मात्र होइन, भविष्यमा मानव स्वास्थ्यमा असर पार्न सक्ने नयाँ भाइरसको सम्भावना पहिल्यै पूर्वानुमान गर्ने आधार समेत प्रदान गर्नेछ।

अनुसन्धान टोलीले विशेष गरी किशोर ब्याटहरूमा सह-संक्रमण हुने समय र अवस्था बुझ्न सकेमा, मानव स्वास्थ्यमा असर पार्न सक्ने जोखिमयुक्त भाइरसहरूको उदय अघि नै थाहा पाउने मौका मिल्ने जनाएको छ।

वैज्ञानिकहरूको निष्कर्ष

वैज्ञानिकहरूको निष्कर्ष छ — कोरोना भाइरसहरू ब्याटको लागि प्रायः हानिकारक हुँदैनन्, तर जब ती नयाँ प्रजातिमा सर्छन्, त्यसपछि उनीहरूको व्यवहार परिवर्तन हुनसक्छ र संक्रमणको खतरा तीव्र हुन सक्छ।

यस अनुसन्धानले कोरोना भाइरसको उत्पत्ति र फैलावटसम्बन्धी अन्तर्राष्ट्रिय स्तरमा भइरहेको अध्ययनमा नयाँ दृष्टिकोण थपिदिएको छ। साथै, भविष्यमा आउने संक्रमण जोखिमहरूलाई समयमै चिन्न र रोक्न वैज्ञानिक, चिकित्सक तथा नीति निर्माताहरूलाई नयाँ औजार प्रदान गर्ने विश्वास गरिएको छ।

Advertisement