दक्ष जनशक्ति संकटका बीच अष्ट्रेलियामा उमेरपूर्वाग्रह बढ्दो

spot_img

सिड्नी — अष्ट्रेलिया अहिले गम्भीर श्रमशक्ति अभावको सामना गरिरहेको बेला कार्यस्थलमा देखिएको नयाँ अनुसन्धानले चिन्ताजनक तथ्य उजागर गरेको छ। अष्ट्रेलियन एचआर इन्स्टिच्युट (AHRI) र अष्ट्रेलियन ह्युमन राइट्स कमिसन द्वारा संयुक्त रूपमा सार्वजनिक गरिएको प्रतिवेदनअनुसार, धेरैजसो रोजगारदाताहरूले वृद्ध र युवा दुबै उमेर समूहका श्रमिकहरूलाई रोजगारीमा प्राथमिकता नदिने प्रवृत्ति देखाएका छन्।

रिपोर्टअनुसार, सन् २०२५ मा एचआर पेशाकर्मीहरूको करिब २५ प्रतिशतले ५१–५५ वर्ष उमेर समूहका व्यक्तिहरूलाई ‘वृद्ध’ वर्गमा राखेका छन्, जुन २०२३ मा मात्र १० प्रतिशत थियो। यो परिवर्तनले अनुभव भएका श्रमिकहरूलाई पन्छ्याउने प्रवृत्ति झल्काएको कमिसनको भनाइ छ, जुन अहिलेको दक्ष जनशक्तिको अभाव झेलिरहेको अर्थतन्त्रमा चिन्ताको विषय हो।

रिपोर्टमा उल्लेख भएअनुसार, खाली रहेका पदहरू पूर्ति गर्न संघर्ष गरिरहेका ५५ प्रतिशत रोजगारदाताहरू भए पनि ५०–६४ वर्ष उमेर समूहका व्यक्तिलाई जागिर दिन तयार हुनेको संख्या ५६ प्रतिशत मात्र छ। ६५ वर्ष माथिका उमेदवारहरूलाई रोजगारी दिन इच्छुकहरूको संख्या झनै घटेर २८ प्रतिशत पुगेको छ, जहाँ १८ प्रतिशतले त उनीहरूलाई विचार नै नगर्ने बताएका छन्।

त्यस्तै, १५ देखि २४ वर्ष उमेर समूहका युवाहरूका लागि पनि अवस्था उत्साहजनक छैन। रिपोर्टअनुसार, मात्र ४१ प्रतिशत रोजगारदाताहरूले यो उमेर समूहका व्यक्तिहरूलाई जागिरमा खुला रूपमा लिन इच्छुक देखिएका छन्।

AHRI की प्रमुख कार्यकारी अधिकृत सारा म्याकक्यान-बार्टलेटले भनिन्, “हाम्रो अनुसन्धानले देखाउँछ कि धेरै कार्यस्थलहरूमा ५० वर्ष नपुगेका व्यक्तिहरूलाई पनि वृद्ध मानेर अवसर दिइँदैन, त्यस्तै २४ वर्ष मुनिका डिजिटल पुस्तालाई समेत गम्भीरतापूर्वक नलिने प्रवृत्ति छ।”

प्रतिवेदनअनुसार, एचआर पेशाकर्मीमध्ये २० प्रतिशतले आफ्ना भर्ना प्रक्रिया वृद्ध उमेदवारविरुद्ध पूर्वाग्रही रहेको र २३ प्रतिशतले युवा उमेदवारहरूका लागि पनि त्यस्तै प्रभाव परेको बताएका छन्।

अधिकार आयुक्त रोबर्ट फिजगेराल्डले भने, “पुराना र नयाँ दुवै पुस्ताका श्रमिकहरू व्यवसायका लागि ठूलो सम्भावना हुन्। उमेर विविधताले कार्यदक्षता र समस्या समाधानको क्षमता बढाउँछ। त्यसैले उमेरको आधारमा होइन, क्षमता र योग्यताको आधारमा अवसर दिनुपर्ने आवश्यकता छ।”

प्रतिवेदनले देखाएको छ कि वृद्ध श्रमिकहरू निष्ठा (७४%), विश्वसनीयता (६४%) र दबाबमा काम गर्ने क्षमता (६२%) मा अगाडि देखिएका छन्, तर प्रविधि प्रयोग र ऊर्जा स्तर जस्ता पक्षमा उनीहरूलाई कमजोर ठानिएको छ। युवाहरूलाई ऊर्जा र प्रविधिमा निपुण मानिए पनि निष्ठा, स्थिरता र दबाबमा काम गर्ने क्षमतामा न्यून मूल्याङ्कन गरिएको छ।

सर्वेक्षणमा सहभागीमध्ये ६० प्रतिशतले वृद्ध कर्मचारीको सेवा निवृत्तिसँगै महत्वपूर्ण सीप र ज्ञान हराएको स्वीकार गरेका छन्, तर मात्र १३ प्रतिशत संस्थाहरूले ती सीपहरूलाई दस्तावेजीकरण गर्दै आएको बताएका छन्।

प्रधानमन्त्री एन्टोनी अल्बानीजले अगस्टमा उत्पादनशीलता सम्बन्धी गोलमेच आयोजना गर्ने घोषणा गरिसकेका छन्, जसले दीर्घकालीन आर्थिक सुधारका लागि व्यापक आधार तयार गर्ने अपेक्षा गरिएको छ। यो रिपोर्टले कार्यस्थलमा उमेरसम्बन्धी पूर्वाग्रह विरुद्ध ठोस कदम चाल्न सरकार र रोजगारदाताहरूलाई गम्भीर बन्न संकेत दिएको छ।

spot_img