
ब्रिसबेन, जुलाई १८ — अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्य अन्तर्गत मोर्टन बेको जोइनरमा बसोबास गर्ने ३४ वर्षीय एक युवकमाथि अमेरिका हुँदै अष्ट्रेलियामा सयौं संख्यामा अवैध रूपमा बन्दुक पार्ट्स आयात गरेको गम्भीर आरोप लागेको छ।
उक्त युवकलाई अष्ट्रेलियन सीमा सुरक्षा बल (Australian Border Force – ABF) ले जुन २६ मा ब्रिसबेन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका यात्रा सकेर फर्किने क्रममा नियन्त्रणमा लिएको हो। उनलाई नियन्त्रणमा लिँदा साथमा रहेको सूचनामा नौवटा पार्सल का ढुवानी विवरण तथा हतियार पार्ट्ससम्बन्धी विस्तृत जानकारी रहेको पाइएपछि प्रारम्भिक अनुसन्धान सुरु गरिएको थियो।
झूटा विवरण र नक्कली नामको प्रयोग
एबीएफले प्रारम्भिक अनुसन्धानपछि सो मुद्दा अष्ट्रेलियन फेडरल पुलिस (AFP) लाई सुम्पिएको हो। एएफपीले आरोप लगाउँदै बताएको छ कि आरोपीले अमेरिका स्थित स्रोतहरूबाट बन्दुकका व्यक्तिगत पार्ट्स छुट्टा–छुट्टै पार्सलमा प्याक गरी, झूटा विवरण र नक्कली नाम/ठेगाना प्रयोग गरेर अष्ट्रेलियाको क्वीन्सल्याण्ड तथा भिक्टोरियास्थित विभिन्न ठेगानामा पठाउने योजना बनाएका थिए।
यसबारे जानकारी दिँदै प्रहरी अधिकारीहरूले जनाएअनुसार सबै ९ वटा पार्सलहरू एबीएफले समयमै रोक्न सफल भई तिनीहरूलाई परीक्षणका लागि एएफपीको प्रयोगशालामा पठाइएको थियो। परीक्षणपछि ती सबै पार्सलमा बन्दुकका असेंबली योग्य पार्ट्स भएको पुष्टि गरिएको हो।
हतियार बिक्री गर्ने योजना
प्रहरीको आरोपअनुसार ती पार्ट्सहरूको प्रयोग गरी बन्दुकहरू असेंबल गरेर अष्ट्रेलियाभर बिक्री गरिने योजना थियो, जसअनुसार एक बन्दुकको मूल्य करिब २०,००० अष्ट्रेलियन डलर तोकिएको थियो।
यस अभियोग अन्तर्गत आरोपीलाई हतियार पार्ट्स तस्करी प्रयाससम्बन्धी ९ वटा मुद्दा लगाइएको छ। उनी जुन २७ मा ब्रिसबेन म्याजिस्ट्रेट अदालतमा उपस्थित भएका थिए। अदालतले उनलाई सर्तसहितको धरौटीमा रिहा गरिसकेको छ। उनी आज (जुलाई १८) पुनः सोही अदालतमा उपस्थित हुँदैछन्।
राष्ट्रिय सुरक्षा चुनौतीका रूपमा लिइयो
अष्ट्रेलियन फेडरल पुलिस (AFP) ले यस घटनालाई गम्भीर राष्ट्रिय सुरक्षा चुनौतीको रूपमा लिएको जनाएको छ। प्रहरी प्रवक्ताले भने, “अवैध रूपमा हतियारको आयात तथा बिक्रीले अष्ट्रेलियाको आन्तरिक सुरक्षामा गम्भीर असर पार्न सक्छ, त्यसैले हामीले यस विषयमा गहन अनुसन्धान गरिरहेका छौं।”
हाल, उक्त घटनासँग सम्बन्धित अन्य सम्भावित संलग्नता तथा नेटवर्कबारे अनुसन्धान भइरहेको एएफपीले जनाएको छ।
