
सिड्नी, अष्ट्रेलिया —
अष्ट्रेलियाको सिड्नीमा नेपाली विद्यार्थी र युवाहरूका लागि सामाजिक रूपान्तरण तथा समस्या समाधानमा सक्रिय एक नयाँ संस्था ‘चितवन सिड्नी बोईज’ औपचारिक रूपमा स्थापित भएको छ। प्रारम्भमा अनौपचारिक समूहको रूपमा सुरु गरिएको यो अभियान अहिले विधिवत रूपमा दर्ता भई सामाजिक सेवामा समर्पित संस्थाको रूपमा अघि बढिरहेको छ।
‘चितवन सिड्नी बोईज’ को स्थापना नेपालबाट उच्च शिक्षा अध्ययन गर्न आएका तथा डिपेन्डेन्ट भिसामा सिड्नी आइपुगेका युवाहरूको संयुक्त पहलमा भएको हो। युवाहरूका अनुसार, शिक्षा मात्र होइन, सामाजिक उत्तरदायित्व, समस्या समाधान र सहकार्यको भावना बोकेर समूह अगाडि बढेको हो।
छोटो समयमै उल्लेखनीय सहभागिता
केही महिना अघिमात्र आधिकारिक रूपमा दर्ता भएको यो संस्थामा छोटो समयमै करिब २०० जना नेपाली युवा सदस्यका रूपमा आबद्ध भइसकेका छन्। संस्था अहिले सिड्नीमा मात्रै सीमित नरही, मेलबर्न, क्यानबेरा लगायत अन्य राज्यहरूमा पनि शाखा विस्तारको तयारीमा जुटेको छ।
संस्थाका अध्यक्ष निसान पौडेलका अनुसार, ‘सिड्नी बोईज’ नेपाली विद्यार्थी तथा युवाहरूका हकहितमा बोल्न, कानुनी सहायता गर्न, तथा मानसिक, सामाजिक वा आर्थिक समस्यामा परेकालाई सहयोग पुर्याउने उद्देश्यसहित अघि बढिरहेको छ।
“पहिले यस्ता विषयमा ध्यान दिने जिम्मा एनआरएनए वा अन्य संस्थाहरूमा सीमित थियो,” अध्यक्ष पौडेलले बताए, “तर विद्यार्थीहरूको सङ्ख्या बढेसँगै उनीहरूको समस्या पनि जटिल बन्दै गएकोले, अब हामी युवाहरू आफैं अघि नबढी हुँदैन भन्ने महसुस भयो। त्यसैले ‘सिड्नी बोईज’ को उदय आवश्यक र स्वाभाविक बन्यो।”


सामाजिक सचेतना र सहकार्य अभियान
संस्थाले ‘मिट एण्ड ग्रिट’, ‘संस्था परिचय कार्यक्रम’ लगायतका अन्तर्क्रियात्मक कार्यक्रमहरू आयोजना गरिसकेको छ। साथै, ग्याम्बलिङ, लागूपदार्थ दुरुपयोग, मानसिक स्वास्थ्य जस्ता संवेदनशील र युवाप्रभावित मुद्दाहरूमा सचेतना अभिवृद्धि गर्ने विशेष अभियान चलाइरहेको छ।
“हामी नारा होइन, व्यवहारिक काममा विश्वास गर्छौं,” अध्यक्ष पौडेल भन्छन्, “युवाहरूको कठिन घडीमा कानुनी वा व्यक्तिगत सल्लाह, तत्कालीन सहयोग वा समन्वयमा जुट्न हामी प्रतिवद्ध छौं।”
परोपकार र आत्मनिर्भरता लक्ष्य
संस्थाले अब आफूलाई दीर्घकालीन र आत्मनिर्भर सामाजिक संस्थाको रूपमा विस्तार गर्ने योजनासमेत अघि सारेको छ। यसका लागि ‘सिड्नी बोईज’ को आफ्नै लोगोयुक्त टिसर्ट, हुडी लगायतका सामग्री निर्माण गरेर प्रयोगमा ल्याइरहेको छ। संस्थालाई आर्थिक रूपमा सबल बनाउन सदस्यहरूले स्वेच्छिक रूपमा खाजा खर्च कटौती गर्ने जस्ता सन्देशमूलक अभियान सञ्चालन गरेका छन्।
युवा नेतृत्वबाट उदाहरणीय पहल
सामाजिक उत्तरदायित्वप्रति जागरुक सिड्नीका नेपाली युवाहरूको यो कदम केवल एक संस्था मात्र होइन, नयाँ पुस्ताको सोच र सक्रियताको प्रतिविम्ब हो। समस्याबाट भाग्ने होइन, सामूहिक रूपमा समाधान खोज्ने संस्कृतिको प्रवर्द्धन गर्दै ‘सिड्नी बोईज’ ले नेपाली डायस्पोरामा आशाको नयाँ झिल्को देखाएको छ।
संस्थाले आगामी दिनमा विद्यार्थी सहायता कार्यक्रम, कानुनी कार्यशाला, रोजगार सूचना सञ्जाल, तथा समुदाय स्तरका परोपकारी कार्यक्रमहरूलाई प्राथमिकता दिने बताएको छ।
