
सिड्नी, जुलाई १८ — पश्चिमी सिड्नी विश्वविद्यालयमा साइबर आक्रमणको आरोपमा पक्राउ परेकी एक विद्युत इन्जिनियरिङ्गकी छात्रा बर्डी किङ्सटन सिड्नीको पेन्रिथ स्थानीय अदालतमा सोमबार उपस्थित भएकी छन्। २७ वर्षीया किङ्सटनले अदालत परिसरमा पत्रकारहरूको क्यामेराबाट बच्न आफ्नो अनुहार गुलाबी रंगको जम्परले छोपेकी थिइन्। उनी आमाबुबासँग अदालत पुगेकी थिइन्।
प्रहरीको दाबी अनुसार किङ्सटनको गतिविधि सन् २०२३ को सेप्टेम्बर महिनाबाट सुरु भएको थियो, जब उनले विश्वविद्यालय परिसरमा सस्तो पार्किङ खोज्ने क्रममा विश्वविद्यालयको सिस्टममा अनधिकृत पहुँच बनाइन्। त्यसपछि उनले आफ्नै फेल ग्रेडलाई पासमा परिवर्तन गरिन् र क्रमशः विश्वविद्यालयको सूचना प्रणालीमा गहिरो पहुँच बनाउँदै गइन्।
जारी अनुसन्धानका क्रममा किङ्सटनमाथि विश्वविद्यालयलाई र्यानसमवेयरमार्फत आक्रमण गरेर ४०,००० अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी मागेको आरोप लगाइएको छ। उनले यदि मागअनुसार रकम नपाए विश्वविद्यालयका विद्यार्थी र कर्मचारीहरूको संवेदनशील डेटा सार्वजनिक गर्ने धम्की दिएकी थिइन्। प्रहरीले यस गतिविधिलाई “सुनियोजित र लगातार सञ्चालन भएको साइबर आक्रमण” को रूपमा व्याख्या गरेको छ।
सिड्नी प्रहरीले २०२३ को सेप्टेम्बरमा किङ्सटनको निवासमा प्रारम्भिक खोजी गरेको थियो भने २०२४ को जुन महिनामा किङ्सवुडस्थित अपार्टमेन्टमा गरिएको दोस्रो छापा पछि उनलाई नियन्त्रणमा लिएको थियो। उनीमाथि २० वटा साइबर अपराध तथा ठगीसम्बन्धी आरोपहरू लगाइएको छ। हालसम्म उनले कुनै अभियोगमा दोषी वा निर्दोष भन्ने प्रतिक्रिया दिएकी छैनन्।
उनको मुद्दाको अर्को सुनुवाइ आगामी अगस्ट १ मा सोही अदालतमा हुने तय भएको छ। न्यू साउथ वेल्सका निर्देशक सार्वजनिक अभियोजन (DPP) ले मुद्दा प्रहरीबाट लिने कि नलिने भन्नेबारे अझै निर्णय गरिसकेका छैनन्।
यस घटनासँग सम्बन्धित विज्ञप्तिमा पश्चिमी सिड्नी विश्वविद्यालयले भनेको छ, “आक्रमणले विश्वविद्यालय समुदायमा गहिरो असर पारेको छ। यस्ता घटनालाई दोहोरिन नदिन हामीले सूचना सुरक्षामा व्यापक सुधार गरेका छौं। यसमा विशेषज्ञ कर्मचारीको नियुक्ति, नयाँ प्रविधिको प्रयोग र साइबर सुरक्षा प्रतिक्रिया प्रणालीको सुदृढीकरण समावेश गरिएको छ।”
