मधेसका तीन जिल्लामा भीषण आगलागी, लाखौंको धनमाल जलेर नष्ट

spot_img

काठमाडौं । बारा, पर्सा र सिराहामा हालै भएका तीन छुट्टाछुट्टै आगलागी घटनाले स्थानीय बासिन्दाको ठूलो धनमाल नष्ट भएको छ । आगलागीमा करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।

बाराको सिम्रौनगढ नगरपालिका १० देवापुर टेटाका राम एकबाल राय यादवको कच्ची घरमा मंगलबार बिहान अचानक आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । उक्त आगलागीबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेको प्रहरीले जनाएको छ ।

यस्तै पर्साको जगरनाथपुर गाउँपालिका १ पिडारी टोलका मुसा राउत गदीको गोठमा मंगलबार बिहान आगो लागेको हो । आगलागीका कारण गोठमा रहेका सामाग्री जली नष्ट भई करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

त्यसैगरी सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ पोखरभिण्डा टोलका राजेश्वर साहको घरमा सोमबार राति आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेको छ । आगोको कारण अहिलेसम्म खुल्न नसके पनि प्रहरी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो ।

तीन वटै घटनाका सम्बन्धमा स्थानीय प्रहरी कार्यालयहरूले आवश्यक अनुसन्धान अगाडि बढाएका छन् । यस्ता घटनाहरू दोहोरिन सक्ने भएकाले सुरक्षाका उपायहरू अवलम्बन गर्न स्थानीय प्रशासनले सर्वसाधारणलाई सचेत गराएको छ ।

spot_img