पूर्व एनआरएल खेलाडी जेम्स रोबर्ट्स लागुऔषध र चोरीको रकमको मुद्दाबाट मुक्त

spot_img

सिड्नी — अष्ट्रेलियाका पूर्व चर्चित एनआरएल खेलाडी जेम्स रोबर्ट्समाथि लागुऔषध तथा चोरीको आशंकामा राखिएको नगदको मुद्दा प्रहरीले प्रमाण अभावका कारण फिर्ता लिएको छ।

३२ वर्षीय रोबर्ट्समाथि सन् २०२४ जुलाई ३० मा ०.३ ग्राम गाँजा र १,४०० अष्ट्रेलियन डलर गैरकानुनी स्रोतको रकम साथमा भएको अभियोग लगाइएको थियो। तर आज हुने भनिएको सुनुवाइअघि नै प्रहरीले मुद्दा फिर्ता लिएपछि उनी आरोपमुक्त भएका हुन्।

एनआरएलमा १२ सिजनमा पाँच क्लबका लागि १६० भन्दा बढी खेल खेलिसकेका रोबर्ट्सले प्रारम्भदेखि नै आफू निर्दोष रहेको बताउँदै आएका थिए।

अदालतबाहिर पत्रकारहरूसँग बोल्दै उनका कानुनी प्रतिनिधि नाजी मखौलले रोबर्ट्ससँग जोडिएका आरोपहरू निराधार रहेको बताए। “प्रहरीले रोबर्ट्सको साथमा रहेको नगदलाई चोरीको आशंकामा राखिएको भनिएको थियो, तर त्यो वास्तविकताभन्दा टाढा थियो,” मखौलले भने।

उनका अनुसार, रोबर्ट्सले विगतमा एनआरएल खेल र कार्यक्रमहरूमार्फत पारिश्रमिकस्वरूप नगद रकम पाउँदै आएका थिए, र उक्त दिन पनि उनले आफ्नै बैंकबाट नगद झिकेका थिए।

गाँजा भने रोबर्ट्सको हैन, यात्रामा रहेका अर्का यात्रुको झोलाबाट फेला परेको पुष्टि भएको मखौलले बताए।

अदालतमा रोबर्ट्स आज उपस्थित नरहे पनि उनका वकिलका अनुसार उनी राहत महसुस गरिरहेका छन् र अब यो अध्यायलाई पछाडि छोडेर अगाडि बढ्न चाहन्छन्।

‘जिमी द जेट’ उपनामले चिनिने रोबर्ट्सले वेस्ट्स टाइगर्स, साउथ सिड्नी राबिटोज, पेन्थ्रिथ प्यान्थर्स, गोल्ड कोस्ट टाइटन्स र ब्रिसबेन ब्रोंकोसका लागि खेलेका थिए। उनले सन् २०१८ को स्टेट अफ ओरिजिन सिरिजमा न्यू साउथ वेल्सको तर्फबाट तीनवटै खेल खेलेका थिए।

त्यस्तै, उनले इन्डिजिनस अल स्टार्स र सिटी ओरिजिन टोलीबाट समेत प्रतिनिधित्व गर्दै सन् २०२२ मा रिटायर भएका थिए।

spot_img