
भिक्टोरिया, अष्ट्रेलिया — सन् २०२३ मा बीफ वेलिङ्टन लन्च खाएर ज्यान गुमाएका आफ्ना नातेदारहरूलाई मृत्युको मुखमा पुर्याएको अभियोगमा एरिन प्याटरसनलाई तीन वटा हत्या र एक हत्या प्रयासको अभियोगमा अष्ट्रेलियाको एक अदालतले दोषी ठहर गरेको छ।
झन्डै १० हप्ता लामो चलेको बहुचर्चित मुद्दामा १२ सदस्यीय जुरीले सात दिनको विचारपछि सर्वसम्मत रूपमा निर्णय सुनाउँदै ५० वर्षीया प्याटरसनलाई दोषी ठहर गरेका हुन्। उनीमाथि आफ्ना सासु–ससुरा डन र गेल प्याटरसन (दुवै ७० वर्ष), तथा गेलकी बहिनी हेदर विल्किन्सन (६६ वर्ष) को हत्या र इन विल्किन्सनको हत्या प्रयासको अभियोग लागेको थियो। इन विल्किन्सन मात्रै उक्त घटनाबाट बाँच्न सफल भएका थिए।
बीफ वेलिङ्टनको लन्चपछि सबैलाई घातक ‘डेथ क्याप’ नामक विषालु मशरुम खाएको पुष्टि चिकित्सकहरूले गरेका थिए। सो लन्च एरिनको घरमा आयोजना गरिएको थियो।
प्याटरसनले सबै अभियोग अस्वीकार गरेकी थिइन्। तर, अनुसन्धानका क्रममा उनले प्रहरी र स्वास्थ्य अनुसन्धानकर्ताहरूसँग झूट बोलेको प्रमाण अदालतमा प्रस्तुत गरिएको थियो। उनले मशरुम आफैँ टिपेर ल्याएको कुरा लुकाउने, मशरुम ड्रायर नभएको बताउने, तथा मशरुम एशियन स्टोरबाट ल्याएको दाबी गरेकी थिइन्। पछि अदालतमा बयान दिँदै उनले महामारीका बेला सन् २०२० देखि जंगली मशरुम टिप्न थालेको स्वीकार गरेकी थिइन्।
अदालतमा पेश प्रमाणअनुसार उनले आफ्ना पाहुनाहरुलाई आफूखुसी छुट्टाछुट्टै प्लेटमा बीफ वेलिङ्टन पस्केकी थिइन्, जसले उनका मनसायप्रति संका पैदा गराएको थियो।
यो घटनाले अष्ट्रेलियामात्र होइन, विश्वभरको सञ्चारमाध्यममा चर्चा पाएको थियो। अन्तर्राष्ट्रिय पोडकास्टहरूमा पनि घटनाको गहिरो चर्चा गरिएको थियो।
अब एरिन प्याटरसनले आजीवन जेल सजाय भोग्नुपर्ने सम्भावना छ। उनको प्रि-सेन्टेन्स (सजाय निर्धारणपूर्व) सुनुवाइ केही महिनापछि हुने बताइएको छ।
