
सिड्नी — सिड्नीमा सम्पन्न प्रतिष्ठित नवाज कप २०२५ फुटबल प्रतियोगिताको उपाधि सेन्ट जर्ज फुटबल क्लबले जितेको छ। फाइनल खेलमा शसक्त मानिएको बेनी फुटबल क्लबलाई ४–० को एकतर्फी गोल अन्तरले पराजित गर्दै सेन्ट जर्जले उपाधि उचालेको हो।
झन्डै दुई महिना लामो चलेको प्रतियोगिताको फाइनल खेल अपेक्षाअनुसार प्रतिस्पर्धात्मक भने हुन सकेन। खेलको सुरुदेखि नै पकड जमाएको सेन्ट जर्जले उत्कृष्ट प्रदर्शन गर्दै सहज जित हासिल गर्यो। राष्ट्रिय टोलीका केही खेलाडी सहभागी दुबै टोलीबीचको प्रारम्भिक प्रतिस्पर्धा रोचक देखिए पनि बेनी एफसीको कमजोर रक्षापंक्ति र आपसी तालमेलको अभावले टोली दबाबमा रह्यो।
सेन्ट जर्जका तर्फबाट असीम थापाले दुई, रूपबहादुर लामाले एक र डार्विनका सुदीप श्रेष्ठले एक गोल गर्दै टोलीलाई जित दिलाए। यसअघि लगातार प्रभावशाली प्रदर्शन गर्दै आएको बेनी एफसी यस पटक उपाधि रक्षा गर्न असफल भयो।
प्रतियोगितामा दी राइजिङ गोर्खा तेस्रो स्थानमा रह्यो। सेन्ट जर्जका रूपबहादुर लामाले प्रतियोगिताभर आठ गोल गर्दै सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीको उपाधि हात पारे भने निश्चल ठकुरी उत्कृष्ट गोलरक्षक घोषित भए।
भेट्रान्स उपाधि माकार्थरलाई
भेट्रान्सतर्फ माकार्थरले पूर्व राष्ट्रिय स्ट्राइकर जुमानु राई सम्मिलित पारापार्कलाई पराजित गर्दै उमेर समूहको उपाधि जितेको छ। पारापार्कले अपेक्षित प्रदर्शन गर्न नसक्दा उपविजेतामा सीमित भयो।

फुटबल अभियन्तालाई सम्मान
प्रतियोगिताको समापन समारोहमा नेपालबाट पारिवारिक भ्रमणमा आएका फुटबल अभियन्ता दिलीप राई र वसन्त अर्याललाई नवाजका अध्यक्ष चिरन तिवारीले सम्मान गरे।
कार्यक्रममा बोल्दै एनएसडब्लु राज्यका वाणिज्यदूत सञ्जीव शर्माले खेलकुदले युवालाई कुलतबाट जोगाउन र अनुशासनमा राख्न ठूलो भूमिका खेल्ने बताए। उनले यस्ता प्रतियोगिताहरूले समुदायमा आपसी भाइचारा बढाउने उल्लेख गरे।
समापनमा सबैलाई आभार
NAWS अध्यक्ष चिरन तिवारीले नवाज कप २०२५ नेपाली समुदायको एकताको प्रतीक बनेको बताउँदै प्रतियोगिता सफल बनाउन योगदान गर्ने सबैप्रति आभार व्यक्त गरे। “खेल मनोरञ्जन मात्रै होइन, अनुशासन र समर्पणको पाठ हो,” उनले भने।
समापन कार्यक्रममा एनआरएन अध्यक्ष अनिल पोखरेल, महासचिव सन्तोष कुँवर, कम्बरल्यान्ड काउन्सिलका काउन्सिलर स्टिभ क्रिष्टोउ, प्रायोजक मार्की होम्सका इर्शाद अहमद, एन्जा अध्यक्ष कृष्ण तिवारी, ओसेनिया संयोजक दिनेश पोखरेल, निर्देशक डा. राजु मानन्धर, अरुण तामाङ, हेउपती गुरुङ, कल्याण खड्का, भिम बस्नेत, मन्जित घिमिरे, विजय थापा, सुवास तामाङ, राज गुरुङ, राजीव प्रधान, ज्ञानक वाइवा लगायतले विजेता खेलाडीलाई पदक तथा प्रमाणपत्र वितरण गरेका थिए।
आयोजक समितिका संयोजक वैकुण्ठ डंगोलले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबै संघ–संस्था र स्वयंसेवकहरूलाई धन्यवाद दिए।






