नेपाली समुदायको सक्रिय सहभागिताले अष्ट्रेलियामा समावेशी समाज निर्माणमा टेवा पुगेको: शिक्षामन्त्री जेसन क्लेयर

 अष्ट्रेलियाका संघीय शिक्षामन्त्री जेसन क्लेयरले नेपाली समुदायको मेहनत, एकता र सक्रियताले अष्ट्रेलियाको समावेशी समाज झनै मजबुत बनेको बताएका छन्। बुधबार साँझ सिड्नीको ओबर्नस्थित सम्बन्ध रेस्टुरेन्टमा आयोजित ‘मिट एन्ड ग्रीट’ कार्यक्रममा बोल्दै मन्त्री क्लेयरले नेपाली समुदायको सहकार्यले समाजमा सकारात्मक प्रभाव परेको बताए। उनले स्वागतप्रति आभार व्यक्त गर्दै बहुसांस्कृतिक अष्ट्रेलियामा नेपालीहरूको योगदानको खुलेर प्रशंसा गरे। कार्यक्रममा ब्ल्याक्सल्याण्ड क्षेत्रकी सांसद सैली सितोले समेत सम्बोधन गर्दै नेपाली समुदायको आत्मीयता र स्वागतभाव प्रेरणादायी भएको उल्लेख गरिन्।

spot_img

बर्वुड काउन्सिलकी काउन्सिलर सुकिर्ति भट्टको संयोजनमा सम्पन्न कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका संस्थापक मन केसी, नेपाली वाणिज्यदूत संजीव शर्मा, क्षेत्रीय संयोजक दिनेश पोखरेल, ग्रेटर सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्रका अध्यक्ष विष्णु हमाल, ओबर्न नेपाली कम्युनिटीका अध्यक्ष अरुण श्रेष्ठ, पूर्व अध्यक्ष जितेन्द्र श्रेष्ठसहित समुदायका अगुवा, प्रतिनिधि र युवाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा आयोजक मीरा गुरुङ र जितेन्द्र श्रेष्ठले मन्त्री क्लेयर र सांसद सितोलाई मायाको चिनो प्रदान गरेका थिए। नेपाली परिकार र सांस्कृतिक माहोलबीच सम्पन्न कार्यक्रमले सरकार र समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाएको सहभागीहरूको धारणा थियो।

Advertisement