“भिक्टोरियामा लिबरल पार्टीले बहुसांस्कृतिक समुदायसँगको सम्बन्ध मजबुत बनाउँदै आगामी चुनाव जित्ने तयारीमा जुटेको छ!”

भिक्टोरियाको लिबरल पार्टीले आगामी चुनावलाई लक्षित गर्दै बहुसांस्कृतिक समुदायहरूसँग प्रत्यक्ष संवादको प्रक्रिया प्रारम्भ गरेको छ। यही उद्देश्यसहित बुधवार साँझ मेलबर्नस्थित पार्लियामेन्ट हाउसमा आयोजित विशेष “मल्टिकल्चरल प्रेस कन्फरेन्स” मा पार्टी नेतृत्वले आप्रवासी समुदायका मिडिया प्रतिनिधिहरूसँग गहिरो छलफल गर्दै आफ्ना प्राथमिकता र नेतृत्व संरचना सार्वजनिक गर्‍यो। कार्यक्रमको उद्घाटन बहुसांस्कृतिक सल्लाहकार पेटा रिडले स्वागत मन्तव्यसहित कार्यतालिका प्रस्तुत गर्दै गरिन्। सम्मेलनका प्रमुख वक्ता विपक्षी नेता तथा साना तथा मझौला व्यवसायसम्बन्धी छायाँ मन्त्री ब्राड बेटिन थिए। उनले भिक्टोरियाको वर्तमान जनजीविकासम्बन्धी प्रमुख समस्या — युवापुस्तामा बढ्दो अपराध, किफायती आवासको अभाव, सहुलियत दरमा ग्यास आपूर्ति तथा सुलभ शिक्षाजस्ता मुद्दालाई लिबरल पार्टीको शीर्ष प्राथमिकता रहेको स्पष्ट गरे। साथै, उनले लेबर पार्टीले पनि चुनावको पूर्वतयारी गरिसकेको जनाउँदै, लिबरलले सो प्रतिस्पर्धामा सक्रियतापूर्वक भाग लिइरहेको उल्लेख गरे।

spot_img

प्रेस कन्फरेन्समा सहभागी अन्य वरिष्ठ नेताहरूले पनि लिबरल पार्टी बहुसांस्कृतिक तथा आप्रवासी समुदायहरूप्रति प्रतिबद्ध रहेको पुनः पुष्टि गरे। पार्टीका उपनेता तथा खेलकुद, पर्यटन र आउटडोर मनोरञ्जनका छायाँ मन्त्री साम ग्रोथले प्यारेन्ट टुरिष्ट भिसासम्बन्धी मुद्दाप्रति पार्टीको चासो प्रकट गरे। त्यस्तै, बहुसांस्कृतिक मामिला तथा रचनात्मक उद्योगका छायाँ मन्त्री इभान मुलहोल्याण्डले विक्टोरियाको विविध सांस्कृतिक समाजको योगदानको प्रशंसा गर्दै आफ्ना सरोकार संसदमा निरन्तर उठाउँदै आएको दाबी गरे। यस कार्यक्रममा लिबरल पार्टीका वरिष्ठ नेता डेभिड डेविस र शिक्षा, औद्योगिक तथा आर्थिक वृद्धिका छायाँ मन्त्री जेस विल्सनको पनि सक्रिय उपस्थिति थियो। बहुसांस्कृतिक मिडिया क्षेत्रबाट उल्लेखनीय सहभागिता पाइयो, जसमा नेपाली समुदायका चिरञ्जीवी देवकोटा, निरु त्रिपाठी, अनिश शर्मा गैरे र छत्र शंकरसमेत सहभागी थिए। संघीय चुनावमा प्राप्त अनुभवबाट पाठ सिक्दै लिबरल पार्टीले बहुसांस्कृतिक समुदायसँगको सम्बन्धलाई नयाँ ढंगले सुदृढ गर्ने रणनीति अघि सारेको देखिन्छ। संवाद र सहभागितामार्फत पार्टीले आगामी चुनावमा आप्रवासी समुदायको विश्वास जित्ने लक्ष्यसहित नीति तथा कार्यक्रमहरू अघि सार्न थालेको संकेत दिएको छ।

Advertisement