अष्ट्रेलियाको सिड्नीस्थित ICC थिएटर, डार्लिङ हार्बरमा आयोजित Global Sourcing Expo Sydney 2025 मा नेपालले आफ्ना मौलिक हस्तकला, वस्त्र र सजावटी सामग्रीमार्फत सांस्कृतिक पहिचानको भव्य प्रदर्शन गरेको छ। जुन १७ देखि १९ तारिखसम्म चल्ने यस तीन दिने अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपाली उत्पादक र व्यवसायीहरूको उल्लेखनीय सहभागिता देखिएको छ।
मेलाको उद्घाटनपश्चात अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव र न्यू साउथ वेल्सका लागि नेपाली मानार्थ वाणिज्यदूत संजीव शर्माले नेपाली स्टलहरूको अवलोकन गर्दै सहभागिताको प्रशंसा गरे।
राजदूत यादवले भनिन्, “हाम्रो हस्तकलामा अष्ट्रेलियाली बजारमा सम्भावनाहरू प्रशस्त छन्। संस्कृति र सिर्जनशीलतालाई विश्वसामु चिनाउने यस्तो प्लेटफर्मलाई हामीले व्यवसायिक फाइदामा बदल्न सक्नुपर्छ।”

वाणिज्यदूत शर्माले पनि नेपाली व्यवसायी तथा उद्योग प्रतिनिधिहरूसँग भेट गर्दै अष्ट्रेलियामा नेपाली उत्पादनहरू प्रति बढ्दो आकर्षणको उल्लेख गरे। “यस्ता प्रदर्शनीहरूले नयाँ बजार पत्ता लगाउने अवसर सिर्जना गर्छन्,” उनले भने। गार्मेन्ट संघ नेपालका का अध्यक्ष पशुपति देव पाण्डेले नेपाली प्रतिनिधिमण्डललाई उच्चस्तरीय सरकारी उपस्थिति र समर्थनले उत्साह थपेको बताए। “नेपालको गार्मेन्ट उद्योग केवल व्यापारको कुरा होइन, यो रोजगार, संस्कृति र दिगोपनको संवाहक हो। यस्ता मेलाले अन्तर्राष्ट्रिय बजारमा नेपालको उपस्थिति सशक्त बनाउँछ,” अध्यक्ष पाण्डेले बताए। नेपाल सरकार उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले एक्स्पो भ्रमणका क्रममा नेपालका स्टलहरू निरीक्षण गर्दै यस्ता अन्तर्राष्ट्रिय मेलाहरू निर्यात प्रवर्द्धन, ब्रान्ड नेपाल को पहिचान तथा नीतिगत सहकार्यको लागि महत्वपूर्ण माध्यम हुने बताए। “सरकारी प्रतिनिधित्व र निजी क्षेत्रबीचको समन्वयले दीर्घकालीन लाभ ल्याउनेछ,” ज्ञवालीले भने।

नेपालका स्टलहरूमा ढाका, हातले बनेका कपडाहरू, पश्मिना तथा विविध सजावटी वस्तुहरू विशेष आकर्षण बने। अष्ट्रेलियाली उपभोक्ता र थोक खरिदकर्ताहरूले नेपाली सामग्रीमा उल्लेखनीय चासो देखाए। मुख्य रूपमा फेशन, उपभोग्य सामग्री र गृह सजावटका वस्तुहरूमा केन्द्रित Global Sourcing Expo अन्तर्राष्ट्रिय खरिदकर्ता र आपूर्तिकर्ताहरूबीच व्यापारिक सञ्जाल विस्तार गर्ने प्रमुख थलो बनेको छ। नेपालले यस्ता मेला र एक्स्पोहरूमा निरन्तर सहभागिता जनाएर आफ्ना मौलिक उत्पादकहरूलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न थप जोड दिनु आवश्यक छ। सन् २०२५ को यो एक्स्पो जुन १९ सम्म जारी रहनेछ।
