भिक्टोरियामा नेपाली समुदायको पहिचानलाई कदर गर्दै, मेरिबेक सिटी काउन्सिलद्वारा मेरिबेक काउन्सिल कार्यालयमा १४ मे २०२५ मा नेपालको भरतपुर महानगरपालिकासँग औपचारिक भगिनी सम्बन्ध स्थापना गर्ने प्रस्तावलाई सर्वसम्मतरूपमा निर्णय गरिएको छ। यस प्रस्तावले ऐतिहासिक रूपमा अस्ट्रेलियामा प्रथम पटक नेपालसँग स्थानीय तहमा यस्तो सम्बन्ध स्थापित हुने बाटो खुलेको छ। नेपालका लागि भिक्टोरियामा कार्यरत अवैतनिक वाणिज्यदूत निराजन गौली र नेपाली वाणिज्यदूत कार्यालयको प्रयास तथा समन्वयमा सम्भव भएको यस सहकार्य प्रस्तावले अस्ट्रेलियाको इतिहासमै पहिलोचोटी कुनै स्थानीय सरकारद्वारा नेपालसँग औपचारिक भगिनी सम्बन्ध स्थापना गर्ने सुनौलो अवसर प्रदान गरेको छ।
मेरिबेक सिटी काउन्सिलका मेयर हेलेन डेभिसन, काउन्सिलरहरू तथा बोर्ड सदस्यहरूले काउन्सिलर क्रिस माइल्सबाट प्रस्तुत प्रस्तावलाई सर्वसम्मतरूपमा अनुमोदन गरेका छन्। यो सहमतिसँगै भरतपुर महानगरपालिकासँग औपचारिक रूपमा सहकार्यको बाटो पनि खुलेको छ। दुई स्थानीय तहबाट आवश्यक पर्ने प्रारम्भिक तयारीहरू सम्पन्न गरेपछि, औपचारिक रूपमा बैठक तथा छलफल कार्यक्रमका लागि पत्राचार समन्वयको प्रक्रिया अगाडि बढाइनेछ। सोही प्रक्रियामा वाणिज्यदूत कार्यालयले दुबै काउन्सिलरहरू समन्वय गर्दै त्यसलाई थप सहजीकरण गर्दै लैजाने भूमिका निर्वाह गर्नेछ।

यो सम्बन्ध केवल औपचारिकता मात्र नभई दुई समुदायबीचको सांस्कृतिक आदानप्रदान, सामाजिक एकता, शिक्षा, पर्यटन तथा स्थानीय प्रशासनिक अभ्यासहरूको आदानप्रदानमार्फत दीर्घकालीन सहकार्य र साझेदारी निर्माण गर्ने प्रयास हो।
मेरिबेक क्षेत्र, विशेषगरी ग्लेनरोय क्षेत्रमा उल्लेख्य मात्रामा नेपाली जनसंख्या रहेको तथ्यले यो सम्बन्धलाई अझ अर्थपूर्ण बनाएको छ। नेपाली समुदायहरूको सक्रिय रूपमा सहभागिता र योगदानको सम्मानस्वरूप नगरस्तरमा यस्तो सम्बन्ध स्थापनाले सम्पूर्ण प्रवासी नेपालीहरूका लागि प्रेरणाको स्रोत बनेको छ।
अवैतनिक वाणिज्यदूत निराजन गौलीले उक्त सम्झौतालाई ऐतिहासिक उपलब्धिको रूपमा मूल्यांकन गर्दै गहन कृतज्ञता र उत्साह व्यक्त गरे — ‘यो सारा नेपाली समुदायका लागि खुशी र प्रेरणाको पल तथा उपलब्धि हो। हाम्रो लामो समयको मेहनत, कूटनीतिक पहल र साझा उद्देश्यको नतिजास्वरूप अस्ट्रेलियामा प्रथम पटक नेपालसँग भगिनी सम्बन्ध हुन लागेको हो। यो सुरुवात मात्र हो, हामीसँग अझ धेरै सम्भावनाहरू छन्। बधाई छ सम्पूर्ण नेपाली समुदायलाई।
