भरतपुर महानगर र अष्ट्रेलियाको मेरिबेक सिटी काउन्सिलबीच भगिनी सम्बन्ध स्थापना हुने

नेपाल र अष्ट्रेलियाबीचको कूटनीतिक सम्बन्धमा एक ऐतिहासिक कदम अगाडि बढ्दैछ। भरतपुर महानगरपालिका र अष्ट्रेलियाको मेरिबेक सिटी काउन्सिलबीच औपचारिक रूपमा भगिनी सहर (Sister City) सम्बन्ध स्थापित हुन लागेको छ।

हालै सम्पन्न काउन्सिल बैठकमा मेरिबेकका काउन्सिलर क्रिस माईल्सद्वारा प्रस्तुत प्रस्तावलाई सर्वसम्मत समर्थन प्राप्त भएपछि यो निर्णय सार्वजनिक भएको हो। भरतपुर, यस सम्बन्धमा अष्ट्रेलियाको कुनै सहरसँग औपचारिक सहकार्य गर्ने पहिलो नेपाली महानगर बन्नेछ।

यो सन्दर्भमा जुन २०२५ मा भरतपुर महानगर प्रमुख मेयर रेनु दाहाल र मेरिबेक सिटी काउन्सिलकी मेयर हेलेन डेभिडसनबीच औपचारिक समझदारीमा हस्ताक्षर गरिने तयारी गरिएको छ। उक्त भेटघाटअघि दुई सहरबीचको सहकार्यका सम्भाव्यता, सांस्कृतिक आदानप्रदान, शिक्षा र युवा कार्यक्रमजस्ता विषयमा कार्ययोजना निर्माण गरिनेछ।

मेरिबेक काउन्सिलका काउन्सिलर क्रिस माईल्सद्वारा प्रस्तुत प्रस्तावलाई मेयर डेभिडसन, काउन्सिलरहरू र बोर्ड सदस्यहरूले पूर्ण समर्थन दिएका थिए। काउन्सिलको अनुसार, दुई सहरबीचको यो सम्बन्धले स्थानीय नेपाली समुदायसँगको सम्बन्ध अझ बलियो बनाउने विश्वास लिइएको छ।

भिक्टोरिया राज्यका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौलीका अनुसार, अष्ट्रेलियामा पहिलोपटक कुनै नगरले नेपाली महानगरसँग औपचारिक भगिनी सम्बन्ध स्थापना गर्न लागेको यो कदम इतिहासमै नयाँ उपलब्धि हो।

उनले भने,

“यो केवल सुरुआत हो। अब हामीसँग अझ धेरै सम्भावनाहरू छन् – शिक्षा, संस्कृति, पर्यटन र लगानीको क्षेत्रमा सँगै अघि बढ्न सकिनेछ।”

मेरिबेक सिटी काउन्सिलको क्षेत्र अन्तर्गत पर्ने ग्लेनरोय, फकनर र ओकपार्क जस्ता ठाउँहरूमा नेपाली समुदायको बाक्लो उपस्थिति छ। २०२१ को अष्ट्रेलियन जनगणना अनुसार, काउन्सिल क्षेत्रभित्र करिब २.२% जनसंख्याले घरमा नेपाली भाषा बोल्ने गरेका छन्। यही कारणले पनि भरतपुरसँग भगिनी सम्बन्धले स्थानीय समावेशीतालाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।

यसअघि भरतपुर महानगर र अष्ट्रेलियाको न्यूसाउथ वेल्सस्थित रकडेल सिटी काउन्सिलबीच भगिनी सम्बन्धको पहल गरिएको भएपनि त्यो प्रक्रिया निष्कर्षमा पुग्न सकेको थिएन।

अब भने, मेरिबेक र भरतपुरबीचको सहकार्यले दुई देशबीचको ६ दशकभन्दा लामो कूटनीतिक सम्बन्धमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।