फेरि धोनी बन्दै चेन्नई सुपर किङ्सका कप्तान

एजेन्सी । आईपीएल २०२५ को बीचमा चेन्नई सुपर किङ्सलाई ठूलो धक्का लागेको छ । टोलीका नियमित कप्तान ऋतुराज गायकवाड फ्र्याक्चर भएपछि बाँकी सिजनबाट बाहिरिएका छन् । अब कप्तानीको जिम्मेवारी फेरि एक पटक पूर्व कप्तान महेन्द्र सिंह धोनीले सम्हाल्ने भएका छन् । यो जानकारी सीएसकेका मुख्य प्रशिक्षक स्टिफन फ्लेमिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा दिएका हुन् ।

गायकवाड गुवाहाटीमा घाइते
कोच फ्लेमिङका अनुसार गायकवाड गुवाहाटीमा खेल्दा खेरी घाइते भएका थिए । उनले प्रारम्भमा पिडासहित खेलेपनि एमआरआई परीक्षणमा उनको दाहिने कुहिनोमा फ्र्याक्चर पुष्टि भएको हो । फ्लेमिङले भने, ‘हामी निराश छौं, तर गायकवाडको प्रयासको कदर गर्छौं । दुर्भाग्यवश, अब उनी यस सिजनको बाँकी खेलमा सहभागी हुन सक्ने छैनन् ।’

धोनी फेरि कप्तानको भूमिकामा
ऋतुराजको चोटपछि टोलीमा नेतृत्वको अभाव भएपछि ४३ वर्षीय महेन्द्र सिंह धोनीले कप्तानी सम्हाल्ने निर्णय गरेका छन् । फ्लेमिङले भने, ‘हामीसँग केही विकल्पहरू छन्, तर हालसम्म अन्तिम निर्णय लिएका छैनौं । तर धोनी तयार थिए, उनले परिस्थितिलाई बुझेर निर्णय लिएका हुन् ।’

गायकवाडको अनुपस्थितिले ब्याटिङ लाइनअप कमजोर
ऋतुराज गायकवाडको अनुपस्थितिले चेन्नईको शीर्षक्रम कमजोर बन्ने निश्चित देखिन्छ । उनलाई ३० मार्चमा राजस्थान रोयल्सविरुद्धको खेलमा तुषार देशपाण्डेले गरेको उछालिएको बलले चोट पुर्‍याएको थियो ।

चोटपछिका खेलहरूमा पनि उनले मैदानमा उपस्थिति जनाएका थिए- ५ अप्रिलमा दिल्ली क्यापिटल्स र पछिल्लो खेल पंजाब किङ्सविरुद्ध मैदानमा उत्रिएका थिए । तर अब उनको अभावमा सीएसकेलाई आफ्नो प्लेइङ ११ मा महत्वपूर्ण परिवर्तन गर्नु पर्नेछ ।

धोनीको अन्तिम कप्तानी सन् २०२३ मा
धोनीले अन्तिम पटक २०२३ मा कप्तानी गरेका थिए, जुन वर्ष उनले टिमलाई पाँचौँ पटक आईपीएलको उपाधि जिताएका थिए । त्यो वर्षको फाइनल खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा गुजरात टाइटन्सविरुद्ध भएको थियो । वर्षा बाधित खेल दुई दिनसम्म चलेको थियो, जहाँ सीएसके विजयी भएको थियो ।

धोनीको अनुभवले सीएसकेलाई फेरि सन्तुलनमा ल्याउने आशा गरिएको छ, तर गायकवाडको अनुपस्थिति खास गरी ब्याटिङमा ठूलो चुनौती बन्न सक्छ । अब हेर्न बाँकी छ, के धोनीको कप्तानी फेरि पनि सीएसकेको भाग्य पल्टाउन सक्षम हुन्छ वा हुँदैन ।