ब्रिस्बेन फर्किएका यात्रुमा Measles संक्रमण पुष्टि, सतर्कता अपनाउन आग्रह

हालै विदेशबाट फर्किएका एक व्यक्तिमा Measles संक्रमण पुष्टि भएपछि क्वीन्सल्याण्डका स्वास्थ्य अधिकारीहरूले सतर्कता जारी गरेका छन्। ती व्यक्ति संक्रामक अवस्थामा रहँदा गोल्ड कोस्ट, ब्रिसबेन र सनशाइन कोस्टका विभिन्न स्थानहरूमा २ देखि ४ अप्रिलसम्म घुमफिर गरेका थिए।

उनी Yo-Chi, Ghanda Clothing, Bunk Hostel, Australia Zoo लगायत भीडभाड भएका स्थानहरूमा पुगेका थिए।  ४ अप्रिलकै दिन उनी सनशाइन कोस्टतर्फ Nambour मार्ग हुँदै ट्रेनमा यात्रा गरेर प्रसिद्ध पर्यटकीय स्थल Australia Zoo पुगेका थिए र सोही साँझ Springfield लाइनमार्फत ब्रिसबेन फर्किएका थिए।अधिकारीहरूका अनुसार ती सबै स्थान र समयहरूमा उपस्थित रहेकाहरूलाई आगामी तीन हप्तासम्म Measles को सम्भावित लक्षणबारे सचेत रहन र स्वास्थ्यमा कुनै पनि असामान्य परिवर्तन देखिएमा तत्काल कदम चाल्न अनुरोध गरिएको छ।

Measles का लक्षणमा ज्वरो आउने, शरीर दुख्ने, थकान, नाक बग्ने, खोकी लाग्ने र आँखामा रातोपन तथा पोल्ने समस्या देखिन्छ। केही दिनपछि ती लक्षणहरूसँगै अनुहारबाट सुरु भएर शरीरभर रातो र दागदार र्‍याश देखा पर्न थाल्छ।

स्वास्थ्य मन्त्रालयले संक्रमणको जोखिमलाई न्यून पार्न लक्षण देखिएमा तुरुन्त GP (General Practitioner) सँग सम्पर्क गर्न अनुरोध गरेको छ। यद्यपि, अस्पताल वा क्लिनिक जानुअघि फोनमार्फत जानकारी दिनु अनिवार्य छ, ताकि संक्रमण अरूमा फैलन नपाओस्।

यदि थप जानकारी वा परामर्श आवश्यक परेमा, क्वीन्सल्याण्ड हेल्थको 13 HEALTH हेल्पलाइन (१३ ४३ २५ ८४) मा सम्पर्क गर्न सकिन्छ।