भ्रष्टचार गर्दिन भन्नेहरू नै भ्रष्टचारमा लिप्त छन् : प्रभु साह

 आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकमा बढ्दै गएको भ्रष्टाचार विरुद्ध खबरदारी गर्ने उद्देश्यले बिरगंजमा एक सभा आयोजना गर्न लागिएको बताएका छन् ।

अध्यक्ष साहले सरकारका निकायहरू भ्रष्टाचारमा पूर्ण रूपले लिप्त रहेको आरोप लगाए । उनले भने, “भ्रष्टाचार नियन्त्रण गर्ने भनिएका निकायहरूकै मिलेमतोमा खुलम खुल्ला भ्रष्टाचार भैरहेको छ ।”

आजपाले हालै मधेसमा भ्रष्टाचारविरुद्ध जागरण अभियान सुरु गरेको थियो र अब वीरगंजमा पनि भ्रष्टाचारविरुद्ध खबरदारी सभा आयोजना गर्दैछ । यसका साथै, वीरगंजलाई मुलुकको आर्थिक राजधानीका रूपमा घोषणा गर्नुपर्ने माग पनि आजपाले अघि सारेको छ ।

साहले वीरगंजलाई आर्थिक राजधानीका रूपमा स्थापित गर्ने विषयमा शासक वर्ग त्रसित भएको टिप्पणी गरे । उनले भनें, “मुलुकमा भ्रष्टाचार बढ्दो छ, तर सरकार मौन छ । भ्रष्टाचार बढ्नमा सरकारको संरक्षण छ र हरेक काण्डमा सरकारका मान्छेहरू संलग्न छन् ।”

पुस २७ गते हुने खबरदारी सभामा आजपा अध्यक्ष साहका साथै पार्टीका शीर्ष नेताहरूले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष साहले वीरगंजलाई प्रदेशको राजधानी बनाउने वचन दिइएको भए पनि यो प्रक्रिया मध्ये एक षड्यन्त्रको भाग भएको आरोप पनि लगाए ।

उनले भने, “काठमाडौंलाई प्रशासनिक राजधानी र पोखरालाई पर्यटकीय राजधानी बनाइए पनि वीरगंजलाई आर्थिक राजधानी बनाउन किन अस्वीकार गरिएको हो ?”

“यदि वीरगंजलाई आर्थिक राजधानीको दर्जा दिइएन भने हामी चुप लागेर बस्ने छैनौं । हाम्रो माग सम्बोधन नगरेको खण्डमा हामी कडा आन्दोलन गर्न बाध्य हुनेछौं,” उनले थपे ।

आजपाले भ्रष्टाचार, सरकारको अनियन्त्रित कर नीति, बैदेशिक रोजगारमा ठगी, भन्सार कानूनका लुटकारी व्यवस्थाहरू, र दलाल प्रणालीको विरोध गर्दै आवाज उठाउँदै आएको छ । आजपाको उद्देश्य भनेको भ्रष्टाचारविरुद्ध जागरण, मनोमानी कर नीति अन्त्य र वीरगंजलाई आर्थिक राजधानी घोषणा गराउने दबाब बनाउनु हो ।