सन् २०२४ भारतीय फिल्म उद्योगका लागि ऐतिहासिक रूपमा सफल रह्यो। बलिउडदेखि दक्षिण भारतीय सिनेमासम्म, ठूला र साना बजेटका फिल्महरूले उत्कृष्ट व्यापार गरे।
यतिखेर अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा-२’ ले बक्स अफिसमा नयाँ कीर्तिमान कायम गरेको छ। ५ डिसेम्बरमा रिलिज भएको यो फिल्मले विश्वभर १७१९ करोड भारुको कमाइ गर्दै वर्षकै सबैभन्दा धेरै कमाइ गर्ने भारतीय फिल्म बन्न सफल भएको छ।
त्यसैगरी, प्रभास अभिनीत ‘कल्की: २८९८ एडी’ दोस्रो स्थानमा रहेको छ। यो फिल्मले १ हजार ४२ करोड भारुको कलेक्सन गरेको छ। दीपिका पादुकोण, अमिताभ बच्चन र कमल हसनको महत्वपूर्ण भूमिकासहित नाग अश्विनको निर्देशनमा बनेको यो फिल्म भगवान् विष्णुको कल्की अवतारको कथामा आधारित छ।
बलिउडतर्फ, ‘स्त्री २’ तेस्रो स्थानमा रह्यो। १५ अगस्टमा रिलिज भएको यो फिल्मले ८७४ करोड भारु कलेक्सन गर्दै वर्षकै सबैभन्दा धेरै कमाइ गर्ने बलिउड फिल्म बन्यो। श्रद्धा कपुर र राजकुमार रावको अभिनयले यसलाई ब्लकबस्टरको सूचीमा राख्न सफल बनायो।
तमिल स्टार थलापति विजयको फिल्म ‘द ग्रेटेस्ट अफ अल टाइम’ चौथो स्थानमा रह्यो। सेप्टेम्बर ५ मा रिलिज भएको यो फिल्मले ४५६ करोड भारुको कमाइ गर्यो र तमिल सिनेमाका लागि यो वर्षको सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बन्यो।
एनटीआर जूनियर अभिनीत ‘देवरा: पार्ट १’ ले ४०३ करोड भारु कमाउँदै पाँचौँ स्थान हासिल गर्यो। सैफ अली खान र जाह्नवी कपुरको भूमिकासहित कोराताला शिवाले निर्देशन गरेको यो फिल्म २७ सेप्टेम्बरमा रिलिज भएको थियो।
बलिउडमा, ‘भुल भुलैया ३’ ले ३५० करोड भारुको कमाइ गर्दै आफ्नो शृङ्खलालाई निरन्तरता दियो। यसैगरी, अजय देवगणको ‘सिंगम अगेन’ ले ३८९ करोड भारु कमाउँदै बलिउडकै शीर्ष फिल्महरूको सूचीमा स्थान बनायो।
ऋतिक रोशन र दीपिका पादुकोणको मुख्य भूमिका रहेको ‘फाइटर’ ले ३४४ करोड भारु कमाएको छ। सिद्धार्थ आनन्दको निर्देशनमा बनेको यो फिल्म २५ जनवरीमा रिलिज भएको थियो।
दक्षिण भारतीय स्टार शिवकार्तिकेयन अभिनीत बायोपिक फिल्म ‘अमरन’ ले ३०० करोड भारुभन्दा बढी कमाइ गर्दै सफलताको झण्डा गाडेको छ। यो फिल्म साई पल्लवीको उत्कृष्ट अभिनयले झनै आकर्षक बनेको छ।
तेजा सिज्जाको ‘हनुमान’ ले पनि ३०० करोड भारुको व्यापार गर्दै वर्षको शीर्ष दस फिल्ममा स्थान बनायो।
यद्यपि, ठूला बजेटका फिल्महरू ‘बडे मियाँ छोटे मियाँ’ र ‘कंगुवा’ भने अपेक्षाकृत व्यापार गर्न असफल भएका छन्।
