काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको निर्णय अनुसार, कात्तिक १८ गते आइतबार बिहान ११:३७ बजे भाइटीका लगाउनका लागि उत्तम समय तोकिएको छ । साथै, भाइटीकामा पश्चिमतर्फ मुख फर्काएर टिका लगाउन समितिले सिफारिस गरेको छ ।
नेवार समुदायले मनाउने किजापूजा पनि सोही दिन कात्तिक १८ गते गरिने भएको छ । यस वर्षको तिहार, यमपञ्चक, कात्तिक १३ गते मंगलबारदेखि सुरु हुनेछ । यस दिन धनत्रयोदशी (धनतेरस) पर्व मनाइने छ भने यमदीपदान कात्तिक १४ गते बुधबार परेको छ, जस दिन कागतिहार पनि मनाइने छ ।

आयुर्वेदका संस्थापक धन्वन्तरीको जयन्ती पनि कात्तिक १४ गते बुधबार नै मनाइने छ । कात्तिक १५ गते बिहीबार कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजाको उत्सव हुनेछ । कात्तिक १६ गते शुक्रबार औँसी परेको भए पनि कुनै विशेष तिहार पर्व भने परेको छैन ।
कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हली तिहार, म्हपूजा र नेपाल संवत् ११४५ को आरम्भ हुनेछ । साथै, कात्तिक २२ गते बिहीबार छठ पर्व मनाइने समितिले जानकारी दिएको छ ।




