चिया सिड (chia seeds) स्वास्थ्यप्रेमीहरूबीच लोकप्रिय हुन थालेको छ। यसलाई विभिन्न तरिकामा सेवन गर्दा तौल घटाउने, पाचनमा सुधार ल्याउने र समग्र स्वास्थ्यमा लाभ पुग्ने बताइन्छ। यहाँ चिया सिड सेवनका विभिन्न तरिका र तिनका फाइदाहरू उल्लेख गरिएको छ।
१. पाउडरको रूपमा प्रयोग गर्न सकिने
यदि चिया सिडको स्वाद प्रत्यक्ष रूपमा मनपर्दैन भने यसको पाउडर बनाएर प्रयोग गर्न सकिन्छ। चिया सिडलाई ग्राइन्डरमा राम्ररी पिसेर बट्टामा बन्द गरेर राख्न सकिन्छ। दिनमा एकदेखि दुई चम्चा यो पाउडरलाई दूध वा मनतातो पानीसँग सेवन गर्दा स्वास्थ्यमा फाइदा पुग्छ। चिया सिड पिसेपछि बन्ने धुलो अलिकति चिपचिप हुने भएकाले यसलाई राम्रोसँग राख्न ध्यान दिनु आवश्यक छ।
२. नास्तामा चिया सिडको समावेश
बिहानको नास्तामा चिया सिड मिसाएर सेवन गर्दा तौल घटाउन मद्दत गर्छ र पेटलाई स्वस्थ राख्नमा सहायक हुन्छ। यसलाई जाउलो, ओट्स वा अरू पौष्टिक खानेकुरामा मिसाएर खान सकिन्छ। यसले पोषण बढाउन र शरीरलाई आवश्यक ऊर्जा दिनमा महत्त्वपूर्ण भूमिका खेल्छ।

३. चिया सिड्स र पानीको मिश्रण
तौल घटाउन चाहनेहरूका लागि पानीमा भिजाएको चिया सिड सेवन गर्न सुझाइन्छ। यसका लागि एक गिलास पानीमा चिया सिड भिजाएर रातभर छाडिदिन सकिन्छ। छिटो खान चाहनेहरूले यसलाई १–२ घन्टामा भिजाएर पनि प्रयोग गर्न सक्छन्। पानीमा भिजाएर जेल जस्तो हुने चिया सिडमा कागती वा सुन्तलाको रस मिसाएर सेवन गर्दा स्वाद थपिन्छ।
४. क्विनोआ वा भातमा मिसाएर सेवन
चिया सिडलाई क्विनोआ वा भातमा मिसाएर पकाउन सकिन्छ। पकाउने क्रममा चिया सिड मिसाउँदा यसको स्वाद न्यून हुन्छ र खान पनि सजिलो हुन्छ। यसरी सेवन गर्दा शरीरमा आवश्यक पोषक तत्त्वहरू आपूर्ति हुन सक्ने हुँदा यो तरिका लोकप्रिय छ।
५. सलादमा चिया सिड
सलादमा चिया सिड मिसाएर खान सकिन्छ। यसका लागि कुनै विशेष तयारी गर्न नपर्ने र सिधै सलादमा छर्केर खान सकिने भएकाले यो सरल उपाय हो। यसले सलादको पौष्टिकता बढाउनुका साथै स्वास्थ्यलाई लाभ पुर्याउँछ।
चिया सिडका यी विविध प्रयोगले स्वस्थ जीवनशैली अपनाउनेहरूको रोजाइमा परेको छ।
अस्वीकरण: यस लेखमा दिइएको जानकारीको उद्देश्य रोग र स्वास्थ्यसम्बन्धी समस्याबारे जागरूकता ल्याउनु मात्रै हो । यो चिकित्सा रायको विकल्प होइन ।





