क्रिकेटर सन्दीप लामिछानेले गरे इन्स्टाग्राममा कुशल मल्ल बाहेक टिमका सबै सदस्यलाई अनफलो

नेपाली क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टोलीका खेलाडीहरूलाई इन्स्टाग्राममा अनफलो गरेका छन्, जसले सामाजिक सञ्जालमा चर्चा पाएको छ। पूर्व कप्तान लामिछानेले सोमबार कुशल मल्लबाहेक सबै राष्ट्रिय टोलीका खेलाडीलाई अनफलो गरेपछि क्रिकेटप्रेमीहरूले यसको कारणबारे विभिन्न अड्कल गर्न थालेका छन्। लामिछानेले अहिले इन्स्टाग्राममा १० अकाउन्ट मात्र फलो गरेका छन्, जसमा पूर्व कप्तान पारस खड्का र शरद भेषवाकरका नाम पनि छन्।

राष्ट्रिय टोलीसँगै अन्य केही क्रिकेटर र अकाउन्टलाई भने उनले फलो गरेका छन्। नेपाली क्रिकेटरहरूको फलोइङ लिस्ट हेर्दा अधिकांशले सन्दीपलाई अझै फलो गरिरहेको देखिन्छ, तर कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, र सोमपाल कामीले उनलाई फलो गरेका छैनन्।

सन्दीपले आइतबार फेसबुकमा पोस्ट गर्दै ‘छिट्टै केही घोषणा’ गर्ने संकेत दिएपछि यस विषयमा थप कौतूहलता बढेको छ। अमेरिकामा वर्ल्डकप लिग टु सिरिज खेल्न गएका लामिछानेको यो पोस्टले क्रिकेटसम्बन्धी केही महत्त्वपूर्ण निर्णय आउने अड्कललाई बल दिएको छ। कतिपयले यो उनको सन्यासको संकेत हो भन्ने आँकलन गरेका छन् भने केहीले राम्रो समाचार आउने अपेक्षा गरेका छन्।

यो घटनालाई सन्दर्भमा राख्दै क्रिकेटप्रेमीहरूले लामिछाने र राष्ट्रिय टोलीका खेलाडीहरूबीच सम्बन्ध बिग्रिएको अनुमान गरिरहेका छन्। यसअघि लामिछानेले सामाजिक सञ्जालका सबै अकाउन्ट डिएक्टिभेट गरेका थिए, तर त्यसको कारण खुलाएका थिएनन्।

उनले ‘केही घोषणा’ गर्ने संकेतले अहिले चर्चा पाएको छ र उनको निर्णयबारे क्रिकेटसम्बन्धी स्पष्ट जानकारी छिट्टै आउने अपेक्षा गरिएको छ।